भाइटीकाको अघिल्लो दिन नेपालगन्जको फूल बजार (फोटो फिचर)
नेपालगञ्ज । प्लास्टिकका मालामा प्रतिबन्ध लगाइएपछि यो बर्ष फूलको माग बढेको छ । भाइटीकाका लागि माला बनाउन फूल किन्नेहरूको बजारमा चाप छ । व्यापारीलाई बेच्न र ग्राहकलाई फूल र माला किन्न भ्याइनभ्याई छ ।
नेपालगञ्ज बजारमा पनि यसपटक फूलको खपत बढेको व्यापारीहरू बताउँछन् । धेरै जनाले व्यावसायिक फूल खेती गरेर फूल उत्पादन गरेका छन् । नेपालञ्जको त्रिभुवन चोक, धम्बोझी चोक, त्रिबेणीमोड, सदरलाइन लगायतका क्षेत्रमा फूल र मालाको कारोबार बढी देखिएको छ ।
सडकको पेटीमा राखेर फूल र माला बिक्री गरिएको छ । सदरलाइनमा सडकको बीचमा परम्परागतरुपमा लाग्दै आएको तिहार बजारमा यस पटक फूल र माला बढी राखिएको छ । एक जना फूल व्यापारी अनिल साहुले घरमै सयपत्री फूल उत्पादन गरेर विक्रीका लागि त्रिभुवन चोकको तिहार बजारमा राखेको बताउनुभयो ।यसपटक स्थानीय फूलले नै बजार पाएको छ । भारतबाट फूल आयात घटेको बताइएको छ ।
माला उन्नका लागि सयपत्री फूल किन्न त्रिभुवन चोक पुग्नुभएकी कोरियनपुरकी विजया शाहले अघिल्ला बर्ष भन्दा यो पटक फुलहरूको पसल बढी देखिएको र मूल्य पनि पहिले जस्तो चर्को नरहेको बताउनुभयो । सयपत्री फूल एक सय पचास रुपैयाँ किलोमा बिक्री भइरहेको व्यापारीहरू बताउँछन् । सयपत्री फूलको माला एक सय रुपैयाँको चार वटासम्म दिइएको छ ।
प्रतिक्रिया राख्नुहोस्