तपाईँ सुन्दै हुनुहुन्छः

चाडपर्व एकताको सूत्रमा बाँध्ने महत्त्वपूर्ण आधार हुन्

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तिहार तथा नेपाल संवत् ११४५ ले आपसी सद्भाव, सहिष्णुता र सुदृढ राष्ट्रिय एकताका निम्ति उत्प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष दाहालले नेपालीको विशेष पर्व तिहार एवं नेपाल संवत् ११४५ शुभारम्भको अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं प्रगतिको कामना गर्नुहुँदै उक्त शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले यस पर्वले पारिवारिक मिलाप, सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गर्नेसमेत  विश्वास लिएको लिनुभएको छ ।

“नेपाल बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक विशेषता, मौलिक चाडपर्व, प्राकृतिक सम्पदा र सभ्यताहरूले सम्पन्न राष्ट्र हो, नेपाली जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रले आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्दै विविध जाति, धर्म र समुदायका ऐतिहासिक सांस्कृतिक पर्वलाई राष्ट्रिय पर्वका रूपमा पहिचान दिएको छ, “सन्देशमा भनिएको छ, “यी विविधतायुक्त संस्कार, संस्कृति एवं चाडपर्वहरू राष्ट्रका साझा सम्पत्ति मात्र नभई जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकताको सूत्रमा बाँध्ने महत्त्वपूर्ण आधारहरू समेत हुन् ।” तिहार पर्वको धार्मिक, सांस्कृतिक र ऐतिहासिक रूपमा आफ्नै विशिष्ट महत्त्व छ । काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा÷गाई तिहार, गोवर्द्धन पूजाले मानव, प्रकृति र पशुपन्छीसँगको गहिरो सम्बन्धलाई उजागर गरेको छ भने भाइटिकाले दाजुभाइ र दिदीबहिनीबिचको माया, प्रेम र हार्दिकता प्रगाढ बनाउनुका साथै पारिवारिक मिलन र एकता वृद्धि गर्न विशिष्ट योगदान दिएको छ । 

तिहारमा खेलिने देउसी भैलोलगायतका सांस्कृतिक कार्यले उल्लासमय वातावरण बनाउनुका साथै नेपाली संस्कृति र पूर्वीय दर्शनको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।

सन्देशमा तिहार सँगसँगै नयाँ वर्षको शुभारम्भ हुने नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् भएको र नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुरुआतसँगै नेपाल संवत्ले राष्ट्रिय मान्यता पाएको कुरा यहाँ स्मरणयोग्य भएको उल्लेख छ । 

साथै, सन्देशमा नेपाल संवत्लाई राष्ट्रिय विभूति शङ्खधर शाख्वाले सुरुआत गर्नुभएको थियो । नेवारी समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा र मौलिकताका निम्ति उहाँले पुर्‍याउनुभएको योगदान हामी सबैका लागि प्रेरणादायी भएको उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button