तपाईँ सुन्दै हुनुहुन्छः

‘स्थायी बासस्थानको आशामा बित्यो बाढीपहिरो पीडितको एक महिना’

धुलिखेल । अविरल परेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बस्ने घर र खाने अन्न फलाउने खेत सबै बगाएपछि पनौती नगरपालिका वडा न-१२ रोशी बजारका गीता केसी छिमेकीको घरमा बस्दै आउनुभएको छ । भएको घरबार, लत्ताकपडा अनि पकाएर खाने भाँडाकुँडा सबै बगाएपछि राज्यले केही गरिदिन्छ कि भन्ने आशामा बस्दै दिनगन्ति गरेको एक महिना बढी भयो ।

राज्यले बासस्थान बनाइदिने भन्ने कुराले मनमा आश पालेर बसेका बाढीपहिरो पीडितको एक महिना त्यतिकै बितेको छ । तर अहिलेसम्म उचित व्यवस्थापन समेत नगरेको उहाँको गुनासो छ । पाँच रोपनी जग्गामा लहलह झुलेको धान सबै सखाप हुनेगरी नजिकै रहेको घरबार सङ्गै बाढीले बगाएपछि अहिले उहाँहरू छिमेकीको घरमा रात बिताउँदै आएको छ । ‘खोलाको बाढीले ल्याएर थुपारेको ढुङ्गा, दाउरा र काठ पन्छाएर भएपनि अन्न फलाउने खेत त बनाउनै पर्‍यो ।’ यत्रतत्र छरिएका काठ र दाउरा टिप्दै उहाँले भन्नुभयो, ‘आफ्नो भएको जग्गा नै यही हो, अरू विकल्प केही छैन ।’ खाद्यान्न चाही अलिअलि पाई रहेको र केही दिन अगाडी जस्तापाता बाँडेकोले लिएर राखेको उहाँले सुनाउनुभयो । सरकारले छिट्टै बास बस्ने ठाउँको उचित व्यवस्थापन गरिदिए बाढीले बगाएर खोलासङै धमिलिएको मन केही भएपनि सफा हुने उहाँ बताउनुहुन्छ  ।

बाढीले ढलाएको घर हेर्दै खोलाको बगरमाथि त्रिपालमा सुकाएको धान सफा गर्दै रहनुभएका माथिल्लो रोशी बजारका मनकुमारी तामाङले खाने र बस्ने स्थानको सुनिश्चितताको आशामा दिन बितिरहेको बताउनुभयो । पनौतीमा कोठा लिएर बस्दै आउनुभएका उहाँहरू बस्ने घर नै नभएपछि त्यहीको नजिक रहेको जस्ताको सानो टहरामा धान भित्र्याउने सुरसारमा छन् । ‘सधैँ त कोठा लिएर बस्न सकिँदैन ।’ उहाँले भन्नुभयो, ‘अब कसरी बनाउने भन्ने चिन्ताले सताइरहेको छ ।’ खेती किसानी गरेर जीविका चलाउँदै आउनुभएका परिवारको आम्दानीको रुपमा रहेको फर्निचरसमेत घरसङ्गै बाढीले बगाएपछि एक महिनादेखि घर न कामको जीवन बिताइरहेको उहाँले सुनाउनुभयो ।

अर्का स्थानीय बासिन्दा मैना तामाङले घर ढलेको पिर सँगै खल्लो गरी बिताएको दशैं पर्व सकिए लगतै तिहार नजिक आएपनि घरबार र खाने कमाउने कुनै टुङ्गो नभएको सुनाउनुभयो ।

सोही ठाउँका नवराज गुरुङ गाउँका युवाहरूलाई ज्यालामा लगाएर बाढीले थुपारेको गेग्रानहरु पन्छाउन थाल्नुभएको छ । यसअघि खोलाको बाढी र काम गर्ने मान्छे पनि नपाएको अवस्था रहेकोमा बिस्तारै पुरिएको बासस्थान व्यवस्थित गर्न गालेको उहाँले बताउनुभयो । ‘बल्ल मान्छेहरूलाई केही फुर्सद हुन थालेपछि पुरेको ठाउँलाई सफा गरेर भल कटाउने ठाउँ बनाउन थालेको हुँ ।’ उहाँले भन्नुभयो ।

दुई तले घर बगाएपछि बिचल्लीमा रहेको शङ्कर तामाङ छिमेकीको घरमा बस्दै आउनुभएको छ । बस्ने घर बनाउन पैसा नै नभएको र खाने अन्नपात संघ संस्थाले वितरण गरेकोबाट चलाइरहेको उहाँ राज्यले सुरक्षित बस्ने ठाउँको व्यवस्थापन गरिदिने आशामा रहेको बताउनुहुन्छ ।

सोही गाउँका अर्का रविन्द्र नगरकोटीले बाढीपहिरो गएको एक महिना बितिसक्दा पनि के कस्तो समस्या छ र खाने बस्नेको अवस्था के कस्तो छ भनेर स्थानीय सरकार एक पटक पनि सोध्न नआएको गुनासो गर्नुभयो । सबै चिज बगाएपछि बालबालिकाहरूको पढ्ने ठाउँ र बस्ने स्थानको सुनिश्चितता नभएर समस्यामा परेको उहाँको भनाई छ ।

स्थानीय राजेन्द्र केसीले व्यक्तिको घरबारी र खेत सबै बगाएपछि बिचल्लीमा परेका नागरिकलाई सुरक्षित ठाउँमा आवासको व्यवस्थापन गर्न अपरिहार्य रहेको बताउनुभयो । ‘विपद्पछि उद्धार र राहतसँगै बाटोघाटो त बन्यो, तर उहाँहरूलाई त्यसले खासै छोएको छैन ।’ उहाँले भन्नुभयो, ‘सुरक्षित तरिकाले बस्ने आवास छैन, कमाई खाने ठाउँ छैन । राज्यले यहीको भूगोललाई छनौट गरेर एकीकृत रुपमा बस्ने आवासको बस्ती व्यवस्थापन गर्न आवश्यक छ ।’ बस्ने घर नै नहुँदा बालेको बिजुली, पुर्याएको मोटरबाटो र खानेपानी कसरी उपभोग गर्ने रु ती सबैले नछोएको मनलाई सुरक्षित आवासले मात्रै छुन सक्ने भएकाले राज्यले अब त्यसमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

पनौती नगरपालिका वडा न- १२ का वडा अध्यक्ष जयराम केसीले यहाँका नागरिकको लागि बगरमा बाढीको र डाँडा पाखामा पहिरोको डर भएकाले व्यवस्थित एवं एकीकृत बस्ती विकासतर्फ नै सोच्दा उचित हुने देखिएको कारण संघीय सरकारको सहयोगको अपेक्षामा रहेकोले नागरिकको आवास व्यवस्थापनमा ढिलाइ भइरहेको बताउनुभयो । अब वडाले बासस्थानको लागि उचित ठाउँको अभाव भएको कारण तिहारपछि जनप्रतिनिधिको बैठक बसेर आवास व्यवस्थापनको लागि आवश्यक कदम चाल्ने उहाँले बताउनुभयो ।

वडाभित्रमा ५ जनाको मृत्यु भएको र ३०० भन्दा बढी घरहरूको पूर्ण क्षति भएको जनाएको छ । जसमा ७० भन्दा बढी गाईभैँसी, पाँच हजार भन्दा बढी कुखुरा र २०० भन्दा बढी खसीबोकाहरु पुरिएको छ । अझै विवरणहरू सङ्कलन भइरहेको र सडक, विद्युत्, खानेपानी लगायतका कामलाई व्यवस्थित गर्दै अगाडी बढिरहेको वडा कार्यालयले जनाएको छ ।

पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पहिलो आवश्यकता आवास भएकाले बस्ने ठाउँको व्यवस्थापन गर्न सकेको अवस्थामा बस्तुभाउ पालेर पुनः जीवनयापनलाई बिस्तारै पुरानै लयमा फर्काउन सकिने भएको त्यसको आवश्यक व्यवस्थापन गर्ने तयारीमा जुटिरहेको बताउनुभयो । अहिलेको पिँडीले विपत्ति सहेको र अर्को पिँडीले विपत्ति सहन नपरोस् भन्नका लागि पनि राज्यले सुरक्षित रुपमा बसोबासको व्यवस्थापन गर्न आवश्यक रहेकाले त्यसमा संघीय सरकारबाट नै सहयोग गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले तत्कालका लागि खाद्यान्न लगायतका आवश्यक व्यवस्थापनका लागि विभिन्न संघ/संस्थाहरूले वितरण गर्ने नगद सहयोगमा वितरणमा ५ जनासम्मको परिवार भएकोलाई १५ हजार र त्यसभन्दा बढी भएको परिवारलाई २० हजारका दरले एकरुपता हुने गरेर वितरण गर्ने निर्णय भएको जनाएको छ । बासस्थान निर्माण गर्ने विषयमा जोखिमयुक्त बस्तीको भौगोलिक अवस्था अध्ययनका mलागि राष्ट्रिय जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण  शहरी विकास तथा भवन कार्यालयलाई  अनुरोध गर्ने निर्णय भएको छ । 

विपद्पछिको एक महिनामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड), गृहमन्त्री रमेश लेखक, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलगायतले बाढीपहिरो प्रभावित क्षेत्र पनौती-१२ रोशी बजार क्षेत्र कलाँती भूमिडाँडाको स्थलगत निरीक्षण गरिसक्नुभएको छ ।पेमा लामा /रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button