‘कोहलपुरमा पाउडर दूध उत्पादनका लागि पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता’
बाँके । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले कोहलपुरमा पाउडर दूध उत्पादनका लागि आवश्यक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभएको छ।
नेपाल किसान महासङ्घ बाँकेले मङ्गलवार कोहलपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीले स्थानीय स्तरबाट पाउडर दूधको माग रहेको र कोहलपुर नगरपालिकाका मेयरको आग्रहका आधारमा यस कार्यलाई आफ्नो कार्यकालको प्राथमिकतामा राखेको जानकारी गराउनुभयो । मन्त्री अधिकारीले बाँकेको खजुरामा रहेको कपास विकास समितिलाई चलायमान गराउन आफ्नो ध्यानाकर्षण भएको पनि बताउनुभयो ।
कृषि क्षेत्रमा हुने भ्रष्टाचारको अन्त्य गर्न प्रतिबद्धता जनाउँदै उहाँले किसानको हितमा ठूला काम गर्न नसके पनि कुनै गलत काम नगर्ने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले किसानका लागि सिचाई, मल र बीउको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो। किसान महासङ्घ बाँकेका अध्यक्ष लाहुराम थारुले किसानहरू मलखाद नपाएर दुःख पाएको र बिचौलियाबाट धान बिक्री गर्नुपरेको गुनासो पोख्नुभयो।
मन्त्री अधिकारीले कार्यक्रममा सहभागी भई कोहलपुरस्थित दुग्ध विकास आयोजना, कृषि अनुसन्धान निर्देशनालय खजुरा र कोसे बाली अनुसन्धान कार्यालय खजुराको स्थलगत निरीक्षण गर्दै आवश्यक निर्देशन दिनुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्