गमगढी–नाक्चेनाङ्ला सडक अलपत्र
'१८ वर्षमा १७ किमी निर्माण'

जुम्ला । कर्णाली प्रदेशको लाइफलाइन आयोजनाका रुपमा रहेको गमगढी–नाक्चेनाङ्ला सडक निर्माण १८ वर्षदेखि अलपत्र परेको छ । गमगढी–नाक्चेनाङ्ला सडक निर्माणले कर्णाली लाई उत्तरी चीनसँग जोड्ने र कर्णालीको विकासमा टेवा पुग्ने भएपनि १८ वर्षदेखि सडक आयोजना निर्माण कार्य अलपत्र भएको हो ।
कूल ८५ किलोमिटरको गमगढी–नाक्चेनाङ्ला सडक चीन सँग जोड्ने सबैभन्दा छोटो मार्ग हो । तर सरकारको बेवास्ताकै कारण सडक निर्माण अलपत्र भएको मुगाली समुदायको गुनासो छ ।
सङ्घीयता कार्यान्वयन हुनु पहिले सर्वे भई निर्माण सुरु भएको सडक आयोजनामा सङ्घीयतापछि पर्याप्त बजेट नहुँदा निर्माण कार्य अघि नबढेको बुझिएको छ । हाल ठुला आयोजना सङ्घले हेर्ने भन्दै प्रदेश मौन बस्ने र सङ्घले वास्ता नगर्ने प्रवृत्तिले कर्णालीवासीको जनजीवन सँग जोडिएको गमगढी–नाक्चेनाङ्ला सडक सडक अलपत्र अवस्थामा पुगेको मुगुका सञ्चारकर्मी नन्द रोकाया बताउनुहुन्छ ।

गमगढी–नाक्चेनाङ्ला सडकको २०६२/०६३ मा विस्तृत सर्भे भएको थियो । सर्वे प्रतिवेदन फाइनल भएपछि आर्थिक वर्ष २०७२/०७३ सालबाट यो सडक निर्माण सुरुवात गरिएको थियो । बितेको १८ वर्षको अवधिमा कूल ८५ किमी दुरी रहेको यो सडकको १७ किलोमिटर मात्रै ट्रयाक खोलिएको छ ।
१८ वर्षदेखि यो सडक आयोजना अलपत्र पर्दा पनि सङ्घीय सरकारको नीति र बजेटको प्रथामिकतामा नपर्दा आयोजना नै बेवारिसे बनेको छ । १८ वर्षमा १७ किमी खोलिएको ट्रयाक कतै घोरेटो बाटो जस्तो छ ।
चाडै सडक बन्ला गाडी चढौला भन्ने सपना बुनेका मुगालीबासीहरु सडकको दुरावस्था देखेर सङ्घीय सरकारले गरेको उपेक्षा प्रति आक्रोशित भएका छन् । सडक नबन्दा मुगुमकार्मारोङ गाउँपालिकाका स्थानीयलाई खाद्यान्न र दैनिक उपभोग्य सामान खरिद गर्न २-३ दिन पैदल हिँडेर सदरमुकाम गमगढी पुग्नु पर्ने बाध्यता छ ।
कोही जटिल खालको बिरामी भएमा चाहेर पनि तत्काल उद्धार गर्न नसकिने स्थिति रहेको मुगुमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘राज्यकै उपेक्षा दुर्गम क्षेत्र झनै पछि पर्यो । नेपालका उत्तरी नाकासँग जोडिएका नाका मध्ये नाक्चेलाग्ना नाका छोटो नाका हो । यो सडक बनेको खण्डमा मुगुलाई मात्र नभई सिङ्गो कर्णालीलाई राहत पुग्छ । यसमा प्रदेश सरकारको पहल हुनु पर्ने हो देखिएन । आयोजना अलपत्र पर्दा हामीलाई समस्या भयो ।’
मुगुमकार्मारोङ गाउँपालिका–८ माग्री डाँडाको भिर कडा चट्टानफोडन बजेट माग गरेको भए पनि सुनुवाई नभएको अध्यक्ष लामाले उल्लेख गर्नुभयो । गमगढी नाक्चेनाङ्ला सडकको लागि गतबर्ष ८० लाख बजेट विनियोजित खर्च हुन नसकेर फिर्ता भएको थियो ।
सडक विस्तार नभएकै कारण मुगुमकार्मारोङ गाउँपालिकाले विकासको अनुभूति गर्न सकेको छैन । भौगोलिक कठिनाइले आयोजनाको लागतभन्दा ढुवानीमा बढी बजेट खर्च हुने भएकोले सरकारले पर्याप्त बजेट विनियोजन गर्नुपर्ने माग मुगालीबासीको छ ।
गलत वर्ष कर्णाली प्रदेशले आफ्नो लगानीमा ढुङेधारादेखि लाम्रीसम्म ६ किलोमिटर सडक खनिएको छ । यो आर्थिक वर्षमा लामासिमबाट पालिकाको मुख्य केन्द्र पुलुसम्म सडक पुर्याईने कार्ययोजना रहेको अध्यक्ष लामाले जानकारी दिए । यो सडक आयोजना सडक डिभिजन जुम्लाले हेर्दै आएको छ । बजेट अभावकै कारण सडक अपेक्षित रुपमा अघि बढ्न सकेको छैन ।
सामग्री ढुवानी खच्चडको भर
मुगुमकार्मारोङ गाउँपालिका सडक सञ्जालसँग नजोडिँदा करान भेगका बस्तीमा अझै खाद्यान्न ढुवानी खच्चडकै भरमा हुने गरेको छ । मुगुमकार्मारोङ-९ छायलसम्म सडक जोडिएको भए पनि माथिल्लो करान भेगमासडक सञ्जाल जोडिएको छैन । भौगोलिक हिसाबले निकै दुर्गम करान भेगमा सडक नपुग्दा नागरिकले सास्ती पाउने गरेका छन् ।
जसका कारण दैनिक उपभोग्य सामानदेखि निर्माण सामाग्री सम्म खच्चडकै भरमा ढुवानी गर्नुपर्ने बाध्यता रहेको स्थानीय पेमालामाले बताउनुभयो । उहाँले भन्नुभयो,‘निर्माण सामाग्री खच्चडले बोक्छन् । भने खाद्यान्न मान्छेले बोक्छन् । भिरालो बाटोले ज्यान नै दाउमा लगाउनु पर्ने अवस्था छ । राज्य हाम्रो समस्या प्रति सधैँ अनुदान देखिएको छ ।’
सडक आयोजना अलपत्र परेपछि कर्णालीवासीको तिब्बतमा जडीबुटी, ऊन र नुनका साथै भेडा–च्याङ्ग्राको व्यापार बिस्तार गर्ने सपना साँघुरिँदै गएको भन्दै स्थानीले चिन्ता व्यक्त गरेका छन् ।
१८ वर्षमा १७ किमी मात्रै निर्माण भएको छ । त्यो पनि सडक जस्तो छैन । जसका कारण कार्मारोङका किम्री, कार्ती, ताखा, खारी, मुगु, डोल्फु, चितै, रिउस र पुवागाउँका स्थानीयलाई पदैलनै हिँड्नु पर्ने कष्ट उस्तै रहेको छ । सडक नपुगेकै कारण गमगढीमा २५ सय पर्ने चामल कार्मारोङमा क्षेत्रमा ४ हजारदेखि ५ हजारसम्म पर्ने गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्