तपाईँ सुन्दै हुनुहुन्छः

तानसेनमा खानेपानीको महसुल घट्यो, उपभोक्तालाई राहत

पाल्पा । बजारमा महँगी बढिरहेको सन्दर्भमा तानसेन खानेपानी उपभोक्ता समितिले भने खानेपानीको महसुल घटाएको छ । जसले गर्दा तानसेनका करिब ५ हजार घरधुरीका उपभोक्ता लाभान्वित हुने भएका छन् । कार्तिक १ गतेदेखि लागु हुने गरि महसुल घटाइएको तानसेन खानेपानी उपभोक्ता समितिले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

समितिले ग्राहस्थ र गैर ग्राहस्थ (सरकारी कार्यालय, सङ्घसंस्था, होटल व्यवसाय, विद्यालय) गरी दुई भागमा विभाजन गरी मूल्य समायोजन गरेको हो । समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठका अनुसार उपभोक्ताले खानेपानीको महसुल महँगो भएको, न्यूनतम मूल्य बढी भएको बताएका थिए, उपभोक्ताको माग अनुसार यस अघि कायम गरिएको मूल्यभन्दा कम बनाएर मूल्य समायोजन गरिएको हो । ग्राहस्थतर्फ न्यूनतम एक हजार लिटरसम्म ३ सय रुपैयाँ कायम गरिएको छ । एक हजारदेखि १० हजार लिटरसम्म प्रतिहजार ३० रुपैयाँ, ११ हजार लिटरदेखि १५ हजार लिटरसम्म प्रतिहजार ८० रुपैयाँ मूल्य कायम गरिएको छ । यस्तै  १६ हजार लिटरदेखि २० हजार लिटरसम्म प्रतिहजार एक सय, २१ हजारदेखि ३० हजारसम्म प्रतिहजार २ सय, ३१ हजारदेखि ४० हजारसम्म प्रतिहजार २ सय ५० र ४१ हजार लिटरदेखि माथिका लागि प्रतिहजार लिटर ३ सय थप हुने छ ।

यस्तै समितिले गैर गृहस्थ (सरकारी कार्यालय, सङ्घसंस्था, होटलव्यवसाय, विद्यालय) का लागि पहिलेको महसुलमा १० प्रतिशत घटाएको छ । जहाँ न्यूनतम  महसुल २ सय रहेको छ । समितिले एक हजार लिटरदेखि ५ हजार लिटरसम्मका लागि ५४ रुपैयाँ, एक हजारदेखि १० हजार लिटर सम्मका लागि ७२ रुपैयाँ, एक हजारदेखि १५ हजार लिटर सम्मका लागि ९० रुपैयाँ,एक  हजारदेखि २० हजार लिटर सम्मका लागि १ सय८ रुपैयाँ, एक हजारदेखि २५ हजार लिटर सम्मका लागि १ सय ३५, एक हजारदेखि ३० हजार लिटर सम्मका लागि १ सय ६२, एक हजार लिटरदेखि ५० हजार लिटर सम्मका लागि १ सय ८० र एक हजारदेखि ५१ हजार लिटर माथिको लागि २ सय २५ थप हुने गरि मूल्य समायोजन गरिएको छ । उपभोक्ताको हितलाई मध्यनजर गरी मूल्य समायोजन गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो  ।

साथै उपभोक्ताबाट एक  हजार उठाएर उपभोक्ता कल्याण कोष स्थापना गरी उपभोक्ताकै हितका लागि  खर्च गर्ने निर्णय समेत समितिले गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button