बाँकेमा मूर्ति विसर्जनमा कडा सुरक्षा, ड्रोनमार्फत निगरानी गरिने

बाँके । नेपालगन्जमा विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएका दुर्गा भवानीका मूर्तिहरूको विसर्जन आइतबार दिउँसोबाट सुरु गरिने भएको छ।
मूर्ति विसर्जनको क्रममा सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ भने ड्रोनमार्फत निगरानी गरिने भएको छ।
बाँके जिल्ला प्रहरी कार्यालयले चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना तयार पारी कार्यान्वयन गरिरहेको छ। यसै योजनाअन्तर्गत मूर्ति विसर्जन जुलुसको सुरक्षा र निगरानीका लागि थप सुरक्षा उपायहरू अपनाइएका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीले ड्रोन क्यामेरामार्फत सुरक्षा अवस्थाको निरन्तर अनुगमन हुने जानकारी दिनुभयो।
उहाँका अनुसार नेपालगन्जका विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा मूर्तिहरूको विसर्जन, बजारको अवस्था, र सुरक्षाबारे ड्रोनमार्फत अनुगमन गरिनेछ।
बाँके जिल्लामा मूर्ति स्थापना गरिएका करिब ६ सयभन्दा बढी स्थानमा दुर्गा मूर्तिलाई राप्ती नदी, डुडुवा खोल, र मान खोलामा लगेर विसर्जन गरिनेछ। स्थानीय अगुवा नन्दलाल वैश्यका अनुसार घटस्थापनादेखि स्थापना गरिएका मूर्तिहरूलाई नौ दिनसम्म विशेष पूजापाठ गरी दसैँको भोली पल्ट परम्परागत रूपमा विसर्जन गरिन्छ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मूर्ति विसर्जन कार्यक्रमलाई सौहार्दपूर्ण, शान्तिपूर्ण र सामाजिक सद्भावका साथ सम्पन्न गर्न विशेष सुरक्षा व्यवस्था गरिएको बताउनुभयो।
विसर्जन जुलुस निस्कने रुटहरू लगायत जिल्लाभरि सुरक्षा व्यवस्था कडा बनाइँदै, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्