तपाईँ सुन्दै हुनुहुन्छः

गलैँचा उद्योगमा आगलागी करोडौँको क्षति

सुनसरी ।  सुनसरीको दुहबी नगरपालिका–३ स्थित गलैँचा उद्योगमा बुधबार बेलुका भएको भीषण आगलागीबाट रु ८० करोडभन्दा बढीको क्षति भएको छ ।

धरानका व्यवसायी प्रिन्स अग्रवालले सञ्चालन गर्दै आउनुभएको दुहबी नगरपालिका–३ कदमगाछी चोकदेखि पूर्वमा रहेको हनुमन्ते गलैँचा उद्योगमा  बुधबार राति ८ः३० बजेदेखि भीषण आगलागी भएको थियो ।

उक्त आगो भने अहिलेसम्म पनि पूर्णरूपमा नियन्त्रण हुन नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उद्योग सञ्चालनका क्रममा विद्युत् सर्ट भई आगलागी भएको हो, आगो ठूलो भागमा भित्रभित्र फैलिएको कारण नियन्त्रण गर्न गाह्रो भएको छ ।”

आगलागीबाट एक बिगाहा क्षेत्रफलमा निर्माण गरिएको भवन र मेसिन र गोदाममा राखेका गलैँचा, सिरक, डस्ना, चकटी, म्यट्रेस, कार्पेट, सवारी साधनलगायतका सामग्री सबै जलेर नष्ट भएको सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार उद्योगको गोदाममा राखेको रु ४० करोडको सामग्री र मेसिन र भौतिक संरचना गरी ८० करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । पूर्णरुपमा अझ क्षतिको विवरण आइसकेको छैन ।

आगलागी सुरु भएसँगै विराटनगर, इटहरी, धरान, दुहबी, इनरुवा, झुम्कालगायत स्थानबाट १२ वटा दमकल र सुरक्षाकर्मी स्थानीयलगायतले आगो नियन्त्रण प्रयास गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता तिमल्सिनाले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button