गड्डाचौकी र गौरिफन्टा सीमा नाकामा घर फर्कनेहरूको घुइँचो
चेकजाँचका लागि कुकुर प्रयोग
कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी र गौरिफन्टा सीमा नाकामा घर फर्कनेहरूको घुइँचो लागेको छ।
सबैभन्दा बढी गौरीफन्टा र त्यसपछि गड्डाचौकी सीमा नाकामा घर फर्कनेहरूको घुइँचो लाग्न थालेको छ। हिन्दुहरूको महान् चाड बडा दशैं सुरु भएसँगै यहाँका सीमा नाकाहरूमा स्वदेश फर्कनेहरूको सङ्ख्या उल्लेख्य रुपमा बढेको हो। घर फर्किनेको चाप बढेपछि गड्डाचौकी नाकामा त चेकजाँचका लागि कुकुर नै प्रयोग गरिएको छ।
सोमबारदेखि नाकामा दुईवटा कुकुरको प्रयोग गरिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरीको केनाईन शाखाबाट शेरा र लैला नामका कुकुर ल्याइएको हो। दुवै कुकुरले गड्डाचौकी र कैलालीको गौरीफन्टा नाकामा आलोपालो जाँच गर्नेछन्।
हिजो दिनभरि गड्डाचौकीमा कुकुरको प्रयोग गरेर जाँच गरिएको उनले बताए। आज पनि गौरीफन्टामा जाँच गरिनेछ। भिडभाडका बेला लागुऔषध तथा अन्य अवैध मालसामान भित्रिन सक्ने भएकाले कुकुरको प्रयोग गरिएको हो। गड्डाचौकीमा खटाइएको कुकुरले एउटाले विस्फोटक पदार्थ र अर्कोले लागुऔषध पहिचान गर्छन्। यता त्रिनगर नाकाको पाँच सय मिटर क्षेत्रमा तीन ठाउँमा सशस्त्र प्रहरी, एक ठाउँमा भन्सार कार्यालय, एक ठाउँमा नेपाल प्रहरी, एक ठाउँमा भारतीय भन्सार र एक ठाउँमा सीमा सुरक्षा बल एसएसबीले समेत चेकजाँच गर्दै आएको छ।
प्रतिक्रिया राख्नुहोस्