तपाईँ सुन्दै हुनुहुन्छः

गणतन्त्र कोरियाद्वारा बाढीपीडितका लागि सहयोग

काठमाडौँ । गणतन्त्र कोरिया राष्ट्रिय रेडक्रसले नेपालमा हालै आएको बाढीपहिरोबाट प्रभावितलाई सहयोग गर्न नेपाल रेडक्रस सोसाइटीमार्फत १० करोड कोरियन वोन (रु एक करोड) उपलब्ध गराएको छ । नेपालस्थित कोरियाली दूतावासका अनुसार रेडक्रसले २ अक्टोबरदेखि राष्ट्रव्यापी सहयोग सङ्कलन अभियान पनि घोषणा गरेको छ । सङ्कलन भएको रकम नेपाल रेडक्रस सोसाइटीको माध्यमबाट विस्थापित व्यक्तिको आपत्कालीन राहत र प्रभावित क्षेत्रमा पुनःस्थापना कार्यमा खर्च गरिने उल्लेख गरेको छ ।

यसैबीच गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो थेयलले गत सोमबार नेपालका परराष्ट्रमन्त्री आरजु राणा देउवालाई नेपालमा आएको भीषण बाढीपहिरोले गराएको आर्थिक तथा मानवीय क्षतिप्रति गहिरो समवेदना सन्देश पठाउनु भएको छ ।

परराष्ट्रमन्त्री छोले सन्देशमा नेपालमा भर्खरै परेको अविरल वर्षा र बाढीपहिरोका कारण सयौँ व्यक्तिले ज्यान गुमाएको दुःखद् घटनाको बारेमा थाहा पाउँदा आफू स्तब्ध र दुःखी भएको उल्लेख गर्नुभएको छ । साथै, उहाँले मृतकहरूप्रति गहिरो समवेदनाका साथै शोकसन्तप्त परिवार र घाइतेहरूप्रति कोरिया सरकारको तर्फबाट सहानुभूति प्रकट गर्नुभएको छ । 

त्यसैगरी नेपालको बाढीपीडितका लागि आवश्यकतामा आधारित भएर कोरिया सरकार र कोरियाली जनताले आफ्नो क्षमताअनुसार सहयोग गर्न तयार रहेको पनि सन्देशमा उल्लेख गरिएको नेपालस्थित कोरियाली दूतावासले जनाएको छ । नेपाल र गणतन्त्र कोरियाले दुई देशबीचको कूटनीतिक सम्बन्ध ५०औँ वर्षगाँठको अवसरमा यसवर्ष विभिन्न कार्यक्रम आयोजना गर्नुका साथै दुई देशका उच्च तहबाट बधाई सन्देश आदानप्रदान गरेका छन् । 

अक्टोबर ३ तारिख कोरियाली गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले कोरियाका राष्ट्रपति युन सख्यल र कोरियाली जनतालाई हार्दिक बधाई ज्ञापन गर्नुभएको थियो । सन्देशमा दुई देशबीचको सौहार्दपूर्ण सम्बन्ध पारस्परिक सम्मान र एक अर्काप्रतिको असिम सद्भावमा आधारित घनिष्ट र मैत्रीपूर्ण रहेको उल्लेख छ । अर्ध शताब्दी पुरानो द्विपक्षीय सम्बन्धको यात्रामा सन्तोष व्यक्त गर्दै राष्ट्रपति पौडेलले ‘एभरेष्टिङ फ्रेन्डसिप’ भन्ने नाराले सार्थकता पाएको सन्देशमा उल्लेख गर्नुभएको थियो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button