जुम्लामा बजार अनुगमन सुस्त,महँगीको मारमा उपभोक्ता

जुम्ला । नेपालीको महान् चाड दशैँ तिहार नजिकिएसँगै जुम्लामा महँगी बढेपछि सर्वसाधारण मर्कामा छन् । चाडपर्वकै मुखमा दैनिक उपभोग्य वस्तु चामल,तेल लगायतका वस्तुको मूल्य बढपछि सर्वसाधारण मर्कामा परेका हुन् । दशैँ नजिकिँदै गर्दा हाल सम्म चाड पर्व लक्षित एक पटक मात्रै बजार अनुगमन भएको छ । फेरी बजार अनुगमन गर्ने कुनै सुरसार छैन ।
चाडपर्व लक्षित बजार अनुगमन तीव्र रुपमा नहुँदा एकाएक बढेको महँगीले कमाई नहुने सर्वसाधारणलाई दसैँको जोहो गर्नै मुस्किल भएको छ । बजारमा दैनिक उपभोग्य वस्तुको अस्वभाविक मूल्यवृद्धि प्रति प्रशासनले कुनै चासो नदिएको चन्दननाथ नगरपालिका-४ का स्थानीय देवी प्रसाद सिम्खडाले गुनासो पोख्नुभयो ।
उहाँले भन्नुभयो,‘दशैँ तिहार नजिकिएसँगै जुम्लामा एकाएक महँगी बढेको छ । बिहान बेलुका छाक टार्न मुस्किल हुने,कमाई नै नभएका घर परिवारलाई भने महँगीले दसैँको जोहो गर्नै मुस्किल भएको छ । छुट मूल्यको चामल लिन जाँदा पनि बाक्लो भीडले पाउने स्थिति छैन । सदरमुकाम सँगै ग्रामीण बजारमा चाडपर्व लक्षित बजार अनुगमन नियमित हुनुपर्छ ।’
सबैभन्दा अस्वभाविक रुपमा आर्सीवाद चामलको मूल्य बढेको छ । २२/२३ सय पर्ने उक्त चामल हाल २७ सय ५० रुपैयाँमा विक्री भइरहेको छ । तेलको मूल्य पनि त्यस्तै बढेको छ । हुँदा हुँदा सरकारी अनुदानको चामलको पनि मूल्य वृद्धि भइसकेको छ । केही महिना अघि २२ सय रुपैयाँ बोरा पाईने जिरा स्ट्रिम चामलको मूल्य हाल छुट दिएर पनि २३ सय ७५ रुपैयाँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विक्री गरिरहेको छ ।
तर बजारमा किन मूल्य बढ्यो ? सरकारी अनुदानको चामलको मूल्य पनि किन बढ्यो ? बजारमा अखाद्य वस्तुको विक्री रोक्न लगायतका विषयमा बजार अनुगमनको नियामक निकाय जिल्ला प्रशासन कार्यालय नै मौन देखिएको छ । जसका कारण उपभोक्ता ठगिने क्रम रोकिएको छैन ।
औपचारिकतामा सीमित बजार अनुगमनले उपभोक्ता ठगिने क्रम नरोकिएको हो । पटक पटक अनुगमन गर्नुपर्ने र मूल्य सूचि नटास्ने,अखाद्य वस्तु विक्री गर्ने जोसुकै व्यापारीलाई कानुन बमोजिम जरिवाना गर्नुपर्ने स्थानीयको माग छ । यद्यपि, उपभोक्ता ठग्ने,अखाद्य वस्तु बेच्ने क्रम निर्बाध भईरहेपनि हाल सम्म कुनै पनि व्यापारीलाई कारबाही भएको अवस्था छैन ।
तर चाडपर्व लक्षित बजार अनुगमन तीव्र रुपमा हुने र उपभोक्ता ठग्ने जोसुकैलाई कानुन अनुसार कारबाही गर्ने जुम्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही बताउनुहुन्छ । स्वच्छ बजार र स्वस्थ नागरिक बनाउनु राज्यको दायित्व हो । उहाँले भन्नुभयो,‘आफूखुसी मूल्य बढाउने,मूल्य सूचि नराख्ने,अखाद्य वस्तु बेच्ने व्यापारी सँग अब कुनै सहमति हुदैन् । कानुन अनुसार कारबाही प्रक्रियामा जान्छौ । सामान किन्दा उपभोक्ता पनि बढी सचेत हुन जरुरी छ ।’
बजारमा मूल्य बढेको,ग्रामीण बजारमा अनुगमन नभएको भन्ने गुनासो बढेकोले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय,सम्बन्धित पालिका सँग समन्वय गरी ठोस कार्य योजना नै बनाएर चाड पर्व लक्षित ग्रामीण बजार अनुगमन तथा कारबाही प्रक्रियालाई युद्ध स्तरमै अघि बढाउने प्रजिअ शाहीले उल्लेख गर्नुभयो।








प्रतिक्रिया राख्नुहोस्