मध्य तराइमा तरकारीको मूल्य आकासियो, मर्कामा उपभोक्ता
वीरगञ्ज । चाडपर्व र वर्षाका कारण वीरगन्ज लगायत मध्य तराईका बजारहरूमा हरियो तरकारीको मूल्य आकासिँदै गएपछि उपभोक्ता मर्कामा परेका छन् ।
गत असोज ११, १२ र १३ गते परेको अविरल वर्षाले गाँउमा तरकारी खेती डुबानमा परेर क्षति पुर्याएसँगै उत्पादन घटेको र बजारमा पर्याप्त तरकारी आउन नसकेका कारण तरकारीको भाउ बढेको व्यापारीहरूले बताएका छन् ।
वीरगन्जको तरकारी बजारमा अहिले परवल खुद्रामा १ केजीको १२० रुपैयाँ, भ्यान्टा १३० रुपैयाँ, करेला १२० रुपैयाँ, बन्दाकोभी ८० रुपैयाँ, हरियो खुर्सानी २०० रुपैयाँ, बोडी १२० रुपैयाँ, घिरौँला ६० रुपैयाँ, रामतोरिया १२० रुपैयाँ, काउली १४० रुपैयाँ, टमाटर २०० सय रुपैयाँको भाउमा बिक्री वितरण भइरहेको छ ।
दुई दिनको वर्षाले तरकारी खेती नै डुबानमा परेर टिप्न तयार भइसकेका तरकारीहरू नष्ट भएको र बजारमा मागको तुलनामा उत्पादन कम भई बजार नआउँदा मूल्य बढेको व्यापारीहरूले बताएका छन् ।
बजार अनुगमन गर्ने सरकारी निकायले पनि खाद्यान्न, किराना, लत्ताकपडा पसलमा मात्रै अनुगमन गर्दै आइरहेको र तरकारीतर्फ ध्यान नदिँदा समस्या भएको उपभोक्ताको गुनासो छ ।
प्रतिक्रिया राख्नुहोस्