तपाईँ सुन्दै हुनुहुन्छः

सिमानामा एकिकृत जाँच गर्न मुख्यमन्त्रीको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका सीमा क्षेत्रलाई लक्षित गरेर एकिकृत जाँच गरिने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सीमा क्षेत्रमा एकिकृत जाँच सेवा विस्तार गर्न निर्देशन दिनुभएको हो ।

प्रदेश विपद् व्यवस्थापन तथा समसामयिक विषयमा आयोजना गरिएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले खुला सिमानाका कारण भारतबाट अवैध रुपमा मासु, दूध तथा कृषि उपजका सामाग्रीहरू चोरी पैठारी हुँदा राजश्व चुहावट भइरहेको, उपभोक्ताले विषाक्त खाद्यवस्तु खानुपर्ने बाध्यताको अन्त्य गर्दै नेपाल भित्रने पर्यटकहरूको सुविधाको लागि सीमा क्षेत्रमा एकिकृत जाँच गर्न निर्देशन दिनुभयो ।

भारतबाट नेपाल भित्रिने पर्यटकहरूलाई ठाउँ ठाउँमा सुरक्षा जाँचको नाममा दुःख दिएको, भारतबाट कुखुरा, खसिबोका, माछा, दूध भित्रिने गरेको गुनासो बढेपछि मुख्यमन्त्री आचार्यले समस्या समाधानका लागि एकिकृत जाँचलाई कार्यान्वयनमा ल्याउने योजना अघि सार्नुभएको बताइएको छ ।

सीमा क्षेत्रबाट नेपाल भित्रिदा सवारी साधनको रुट परमिट लिनुपर्ने प्रावधान छ । तर, सीमा क्षेत्रमा त्यो सुविधा नहुँदा ट्राफिक प्रहरीले ठाउँ ठाउँमा जाँच गर्ने र जरिवाना गर्ने कार्यले पर्यटनमैत्री वातावरण निर्माण नभएको भन्दै अबदेखि सीमा क्षेत्रमा सवारी साधनको रुट परमिट दिने व्यवस्था मिलाउन उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिनुभयो ।

रुपन्देहीको सुनौली नाकामा एकिकृत सुरक्षा जाँच गरिँदै आएको छ । अब बाँकी सीमा क्षेत्रमा सोही प्रकृतिको सुरक्षा जाँचलाई अघि बढाउने तयारी गरिएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, भन्सार कार्यालय, यातायात व्यवस्था कार्यालयको सेवा त्यही प्रदान गर्ने गरी सेवा विस्तारको योजना बनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button