तपाईँ सुन्दै हुनुहुन्छः

७ सय बढी मानिसको हेलिकप्टरबाट उद्धार : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कांग्रेस संसदीय दलको बैठकमा बाढी-पहिरोबाट भएको मानवीय र भौतिक क्षतिको ब्रिफिङ गर्नुभएको छ ।

मङ्गलवार दिउँसो नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा गृहमन्त्री लेखकले उद्धार, राहत र घाइतेको उपचारबारे जानकारी गराउनुभएको हो । उहाँका अनुसार सरकारले ७ सयभन्दा बढी मानिसको हेलिकप्टरबाट उद्धार गरिको छ ।

सरकारले तत्काल अस्थायी आवास निर्माण गर्ने र आगामी दिनमा स्थायी आवास बनाउने व्यवस्था मिलाएको बताउनुभयो । क्षतिग्रस्त संरचनाको मर्मत गरि सञ्चालनका लागि सरकारले काम अगाडि बढाएको गृहमन्त्री लेखकले बताउनुभयो ।

गृहमन्त्री लेखकले गृह मन्त्रालयको सहसचिवको नेतृत्वमा सोमबार ८ वटा टोली बनाएर आजै क्षतिग्रस्त ८ जिल्लामा पठाइएको बताउनुभयो । यातायात सञ्चालन गरी मूल्यवृद्धि नियन्त्रणका लागि सरकार सचेत रहेको उहाँले बताउनुभयो । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीले सडक सञ्चालनका लागि काम गरिरहेको उहाँको भनाइ थियो ।

गृहमन्त्री लेखकका अनुसार नख्खु खोलामा टिनको छाप्रोमा उद्धार गर्ने विषयमा सशस्त्र प्रहरी र नेपाल प्रहरी पठाइएको थियो । ‘सशस्त्र प्रहरीको बोट पल्टिँदा उद्धारमा समस्या भएको हो । त्यतिबेला नेपाली सेनाले हेलिकप्टर उठाउने भिजिबिलिटी नभएको मलाई बताउनुभएको थियो । एक जना स्थानीयले उद्धार गरेपछि नेपाल प्रहरीकै गाडीमा अस्पताल लगिएको थियो । प्रहरीले सहयोग नगरेको भन्ने होइन।’

सरकारले अहिले पनि राहत र उद्धारको काम भइरहेको गृहमन्त्री लेखकले बैठकमा सुनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button