तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडाबाट संघीय राजधानी जोड्ने सबै सडक अवरुद्ध 

मकवानपुर । अविरल वर्षा पछि आएको बाढी र पहिरोका कारण बागमती प्रदेशको राजधानी हेटौँडाबाट संघीय राजधानी काठमाडौं जोड्ने सबै सडक अवरुद्ध भएका छन् । हेटौँडाबाट काठमाडौं जोड्ने कान्तिलोकपथ, कुलेखानी–फाखेल, कुलेखानी–सिस्नेरी–दक्षिणकाली र त्रिभुवन लोकपथ सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध बनेको हो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार हेटौँडादेखि कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङमा माथिबाट पहिरो र खोलामा बाढी आई बाटो पूर्ण रुपमा अवरोध भएको छ । सोही सडक खण्डको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोला स्थित लच्कामा आएको बाढीले बाटो पूर्ण अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

यस्तै कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका–११ आँपचौर र लाम्राङमा खसेको पहिरो र भीमफेदी गाउँपालिका–८ बागमती खोलाको पुल बाढीले कटान गर्दा बाटो पूर्ण रुपमा अवरुद्ध बनेको छ । यस्तै भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका– ४ रातोमाटे, वडा नम्बर ६ को ढोकाफेदी पहिरो जाँदा बाटो बन्द भएको छ । भने, त्रिभुवन लोकपथ अन्तर्गत थाहा नगरपालिका–१ दामनमा पहिरो गएर बाटो अवरुद्ध बनेको प्रहरीले जनाएको छ । उक्त पहिरो हटाउने कार्य भइरहेको उहाँले बताउनुभयो । त्यस्तै, प्रदेश राजधानी र संघीय राजधानी जोड्ने सबैभन्दा छोटो दुरीको फाखेल चखेल मातातीर्थ सडकखण्डका विभिन्न स्थानमा पहिरो खसी बाटो अवरुद्ध बनेको उहाँले बताउनुभयो । पूर्व पश्चिम लोकमार्ग भने सुचारु रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button