नदीको सतह बढेसँगै ‘हाई अलर्ट’मा रहन प्रमुख दाहालको आग्रह
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले केही दिनदेखि भइरहेको वर्षाले नदीको सतह क्रम बढ्दै गइरहेकाले ‘हाई अलर्ट’मा रहन नारायणी, राप्ती र नदी क्षेत्रमा बसोबास गर्ने महानगरवासीलाई आग्रह गर्नुभएको छ ।
वर्षासँगै बाढी, पहिरो, डुबान हुने भएकोले सम्बन्धित सबै निकायहरूलाई भरतपुर महानगरपालिकाका प्रमुख दाहालले सम्बन्धित वडा कार्यालयहरूमार्फत बसोबास, खानपिन तथा स्वास्थ्य सेवाको व्यवस्था मिलाइएको बताउनुभएको छ ।
शनिबार बिहान भरतपुर महानगरका तटीय क्षेत्रमा पर्ने वडाहरूको निरीक्षण पश्चात् प्रमुख दाहालको अध्यक्षतामा जिल्लास्थित सुरक्षा प्रमुख तथा सरोकारवालाको बैठक बसी आपतकालिन उद्धार तथा राहतका लागि उपसचिव उपेन्द्रराज पौडेलको संयोजकत्वमा ९ सदस्यीय सूचना सङ्कलन तथा उद्धार सेल गठन गरिएको छ ।
अविरल वर्षाको कारण महानगरपालिकाको नारायणी र राप्ती नदीका तटीय वडाहरू (वडा नं. १, ३, १३, १६, १७, २६, २७, २८ र २९) मा १३५ घरका १२१ जना मानिस र २४ वटा पशु चौपायाको सकुशल उद्धार गरिएको जनाएको छ ।
वर्षाले मानव बस्तीमा क्षति पुग्न सक्ने सम्भावना रहेकोले उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा बसोबास गर्नुहुन र तत्काल उद्धार गर्न परेमा नजिकको प्रहरी चौकी वा जनप्रतिनिधि वा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रमार्फत सम्पर्क गर्न अनुरोध गरिएको छ ।
साथै विपद्बाट प्रभावितहरूलाई घुम्ती स्वास्थ्य टोलीमार्फत निःशुल्क स्वास्थ्य सेवा, शारीरिक रूपमा असक्त रहेका, सुत्केरी, बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवा प्रदान गर्न चौबीसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने महानगरले जनाएको छ ।
स्वास्थ्य सेवाको लागि जनस्वास्थ्य प्रमुख दीपक सुवेदी मोबाइल नम्बर ९८४४२१०८५९, एम्बुलेन्स सेवाका लागि जगतपुर स्वास्थ्य चौकी ९८४४९६७२८८, भरतपुर स्वास्थ्य चौकी ९८४५६५००० र स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र ९८४५०५११२७ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्