बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल बिरामीमैत्री बन्नुपर्छ : कार्यवाहक प्रधानमन्त्री सिंह

चितवन । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले क्यान्सरको उपचार, पहिचान, निदान र सचेतनामा सशक्त भएर लाग्न क्यान्सर अस्पतालका चिकित्सक एवं कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५औँ वार्षिकोत्सव तथा २०औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सीमित स्रोत र साधनका बाबजुद पनि अस्पतालले गरेको प्रगतिको प्रशंसनीय रहेको बताउनुभयो ।
अस्पतालले गर्ने कार्यहरू नेपाल सरकारको नीतिअनुसार बिरामी मैत्री बन्नुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “नेपालमा सबै क्यान्सर रोगको उपचार सम्भावना हुनेगरी कार्य गर्ने सङ्कल्प र प्रतिबद्धता आएको छ, धन्यवाद दिन चाहन्छु ।” उहाँले थप्नुभयो, “अस्पतालबाट प्रदान गरिने सेवाहरूको विस्तृत विवरण प्रतिवेदनका रुपमा सार्वजनिक भएबाट अस्पतालका कार्यहरू नेपाल सरकारका नीतिअनुसार बिरामीमैत्री भएकोमा खुसी व्यक्त गर्दछु ।”
अस्पतालमा सबै प्रकारका रोगको उपचारका लागि आवश्यक पर्ने लिन्याक र सिटी सिमुलेटरको उपकरण खरिद गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने उपप्रधान एवं सहरी विकासमन्त्री सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो अस्पताल क्यान्सर रोगको उपचराका लागि विदेसिनु नपरोस् भन्ने उद्देश्यका साथ स्थापना गरिएको हो । यसलाई अझै सशक्त बनाउन आवश्यक रहेको छ ।”
सो अवसरमा बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले यो अस्पताल देशको लाइफलाइन अस्पतालका रुपमा रहेको बताउनुभयो । क्यान्सरको उपचारका लागि प्रथम विन्दुका रुपमा रहेका जनाउँदै उहाँले सबल र उत्कृष्ट उपचारले रोग निको हुने बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालले उत्कृष्ट सेवा बिस्तार र जनताले सहज उपचार पाउनुपर्छ ।”
नेपाली समाजमा क्यान्सर रोग लागेपछि लुकाएर राख्ने र समयमा उपचारका लागि नआउने प्रचलनका कारण मानिसहरूको मृत्यु हुने गरेको उहाँको भनाइ थियो । जनतामा जनचेतना जगाउन सके उपचारका लागि खर्चिलो नहुने उहाँको भनाइ छ । प्रमुख देवकोटाले थप्नुभयो, “सबल मानसिकता र उत्कृष्ट उपचारले रोग निको हुन्छ ।”
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले नेपालमा रहेका क्यान्सर रोगका बिरामीमध्ये ५० देखि ६० प्रतिशतको उपचार यस अस्पतालमा हुने गरेको बताउनुभयो । बीस प्रतिशत नेपालका अन्य अस्पतालहरूमा र २० प्रतिशत छिमेकी राष्ट्रसहित अन्य मुलुकमा उपचारका लागि जाने गरेको उहाँले जानकारी दिनुभयो । भविष्यमा यस अस्पताललाई ७०० शय्याको बनाउने योजना रहेको डा पौडेलको भनाइ छ ।
अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या वार्षिक रुपमा बढ्दै गएको उहाँले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा एक लाख ६६ हजार २०० बिरामीले उपचार गराएको यस अस्पतालमा गत आर्थिक वर्ष २०८०÷८१ मा एक लाख ८८ हजार ५१४ जनाले सेवा लिएका छन् । जसमध्ये ६ हजार ७९५ नयाँ क्यान्सरका बिरामी रहेको उहाँले बताउनुभयो ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष डा विजय न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २५ वर्षदेखि क्यान्सर रोग लागेर अहिले निको हुनुभएका विष्णुप्रसाद पौडेल, अञ्जनी स्मृति अक्ष्यकोषका दाता तीर्थराज पराजुलीसहित चिनियाँ टोलीका लिडरलाई सम्मान गरिएको थियो । रासस








प्रतिक्रिया राख्नुहोस्