गुणस्तरीय स्वास्थ्य र शिक्षा पुर्याउने अभियानमा सरकार क्रियाशील छ : सभापति देउवा
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले सम्पूर्ण नेपालीहरूलाई आफ्नै गाउँठाउँमा गुणस्तरीय स्वास्थ्य र शिक्षा पुर्याउने अभियानमा सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

पर्साको पटेर्वासुगौली गाउँपालिकामा निर्माण सम्पन्न भएको आधारभूत अस्पतालको आज एक कार्यक्रमबिच उद्घाटन गर्नुहुँदै उहाँले स्वास्थ्य र शिक्षामा नेपाल आत्मनिर्भर बन्न सक्ने वातावरण बन्दै गएको बताउनुभयो ।
सभापति देउवाले देशका सम्पूर्ण गाउँपालिका र नगरपालिकाहरूमा गुणस्तरीय स्वास्थ्य र शिक्षाको व्यवस्था गर्नेतर्फ सरकार क्रियाशील रहेको बताउँदै जनताको प्रत्यक्ष सरोकारका काम छिटोछरितो र पारदर्शी ढंगले अगाडी बढिरहेकोमा खुशी व्यक्त गर्नुभयो ।
सभापति देउवाले सङ्घीय कानुन सम्मत रुपमा मुलुक सङ्घीय ढाँचामा अगाडी बढिरहेको र यसबाट जनताका आधारभूत आवश्यकता पुरा हुँदै जाने विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री अजय चौरसियाले समानुपातिक समावेशी व्यवस्थाको कारण मुलुकमा मधेशी, मुस्लिम, आदिवासी, जनजाति, दलित वर्गले आरक्षण पाएको बताउँदै जनसङ्ख्याको आधारमा निर्वाचन प्रणाली बनाउने काम काँग्रेसले गरेको दाबी गर्नुभयो ।
उहाँले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गएपछि स्वास्थ्य, शिक्षा, खानेपानी, सडक लगायत विकास निर्माणको पक्षमा धेरै काम भएको बताउँदै जनतालाई केन्द्रबिन्दुमा राखेर अहिलेको सरकारले काम गर्दै आएको जानकारी दिनुभयो ।
कानुन मन्त्री चौरसियाले जनतालाई अधिकार सम्पन्न गर्न संविधान जहाँ जहाँ संशोधन गर्नुपर्छ त्यो गर्न सरकार तयार रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश रिजालले मधेश विकासमा कमजोर रहेको दाबी गर्दै जनताले खबरदारी नगरेसम्म विकास सम्भव नहुने बताउनुभयो ।
पटेर्वासुगौली गाउँपालिकामा निर्माण गरिएको १५ शय्याको अस्पतालबाट पर्साको ग्रामीण क्षेत्रका बासिन्दाले उपचार सेवा सहज रुपमा पाउने भएका छन् ।
पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका नेता आनन्द ढुङ्गाना, अनिल रुगटा, उमाकान्त चौधरी, केशरजंग रायमाझी, प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, सुरेन्द्र चौधरी लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्