तपाईँ सुन्दै हुनुहुन्छः

बाँसबारी–बूढानीलकण्ठ सडकको काम चाँडो सक्न मन्त्री पौडेलद्वारा ध्यानाकर्षण

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत् विस्तारका कारण भत्काइएको बाँसबारी–बूढानीलकण्ठ सडकको अवस्थाबारे जानकारी लिनुभएको छ । 

काठमाडौँ महानगरपालिका–५ का निर्वाचित सांसदसमेत रहनुभएका मन्त्री पौडेलले तीन साताअघि मेलम्ची खानेपानी तथा नेपाल विद्युत् प्राधिकरणले समयमै मर्मत नगरेपछि धुलो र धुवाँबाट नागरिकले सास्ती पाएको भन्दै कालोपत्रे तत्काल अघि बढाउने व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो । 

एक वर्षअघि नै काम थालिए पनि तीन निकायबिचको समन्वय नहुँदा ढिलाइ भएपछि नागरिकलाई परेको सास्ती कम गर्न मन्त्री पौडेलले पटक–पटक पहल थाल्नुभएको थियो । सडक डिभिजन, मेलम्ची खानेपानी आयोजना तथा नेपाल विद्युत् प्राधिकरणका अधिकारीसँग स्थलगत निरीक्षण गरेर काममा ढिलाइ नगर्न उहाँले आग्रह गर्नुभएको थियो । 

त्यस लगत्तै सडकको सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र अघिको तीन सय मिटर खण्डमा कालोपत्रेको तयारी थालिएको थियो । सडकमा माटो बिछ्याए पनि कालोपत्रे अघि नबढेको गुनासो आएपछि मन्त्री पौडेलले सम्बद्ध अधिकारीको ध्यानाकर्षण गराउनुभएको उहाँको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button