अत्याधिक गर्मिका कारण विद्यार्थि बेहोस
वीरगञ्ज । अत्यधिक गर्मीको कारण आज दिउँसो पर्साको पोखरिया स्थित जिल्ला उचाँगल माध्यमिक विद्यालयमा अध्ययनरत ८ जना विद्यार्थीहरू कक्षा कोठामै बेहोस भएका छन् ।
बेहोस हुनेमा कक्षा ९ मा अध्ययनरत नेहा कुमारी, मनिता कुमारी यादव ,अन्तिमा कुमारी राम ,चन्दा कुमारी ठाकुर ,निसमा कुशवाहा , साजदा खातुन , कक्षा ७ मा अध्ययनरत सोनु ठाकुर र लालसा कुमारी यादव रहेका छन् ।

बेहोस विद्यार्थीको पोखरिया अस्पतालमा उपचार भएको र उपचारपछि अवस्था सामान्य बन्दै गएको अस्पताल प्रशासनले जनाएको छ । प्रचण्ड गर्मीका कारण विद्यार्थी बेहोस हुन थालेपछि पोखरीया नगरपालिकाले आजबाट तिन दिनको लागी नगर क्षेत्रमा सञ्चालित विद्यालयहरू बन्द गर्ने निर्णय गरेको नगरप्रमुख प्रद्युम्न चौहानले बताउनुभयो ।
मध्यतराईका जिल्लाहरूमा बिगत केही दिनदेखि पानी नपरेको र गर्मी तथा टण्टलापुर घामका कारण विद्यालयमा पढ्ने बालबालिका तथा सर्बसाधरण प्रभावित हुँदै आएका छन् । असोज महिनाको दोस्रो सातामा चिसो बढ्दै जाने र गर्मी हराउँदै जाने भएपनि मौसममा आएको परिवर्तन सँगै असोज महिनामा प्रचण्ड गर्मीले जनजीवन प्रभावित भएको छ । गर्मी बढ्दै जाने हावासमेत नचल्दा उकुसमुकुस भई टिनको छानामुनि पढ्ने विद्यार्थी बढी प्रभावित भएका छन् ।

बिहान १० बजेदेखि नै अत्यधिक गर्मी,हुने र चर्को घाम र हावा नचलेका कारण कक्षाकोठामा बस्नै नसक्ने स्थिति सृजना भएको पर्साको जिराभवानी स्थित शिवशक्ति प्रावि शान्तिनगरका प्रधानाध्यापक रविमोहन सापकोटाले बताउनुभयो ।
विद्यालयमा पङ्खाको व्यवस्था रहेपनि पङ्खाको हावाले समेत काम नगरेको सापकोटाले दुखेसो व्यक्त गर्नुभयो । गर्मीको कारण विद्यार्थी तथा शिक्षकहरूले सम्बन्धित पालिकाहरूलाई पुन बिहानी कक्षा सञ्चालन गर्न माग गरेका छन् ।
यसैबिच अत्यधिक गर्मी बढेसँगै पर्साको जगरनाथपुर, पकहामैनपुर गाउँपालिकाको शिक्षा शाखाले आज सूचना जारी गर्दै मङ्गलवारबाट पालिकाका सामुदायिक तथा संस्थागत विद्यालयलाई बिहानी कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्