योगलाई जीवन संस्कृति र संस्कार बनाउन तीनै तहका सरकारले ध्यान दिनु आवश्यक

काठमाडौँ । योगलाई जीवन संस्कृति र संस्कार बनाउन तीनै तहका सरकार र आम नागरिकको एकीकृत प्रयासमा जोड दिइएको छ ।
गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित ओख्रेनी मा.विमा आज सुन्दरीजल योग केन्द्रको १६ औँ वार्षिकोत्सव कार्यक्रममा जनप्रतिनिधि र योगका अभियन्ताहरूले योगको मर्मलाई आत्मसाथ गर्दै व्यवहारमा रूपान्तरण गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा वाग्मती प्रदेशका पूर्व मन्त्री एमाले नेता रामेश्वर फुयाँलले योग शिविरले विगत १६ वर्षदेखि सुन्दरीजल सहित काठमाडौँको उत्तरपूर्वी भेगमा सञ्चालन गरेका कार्यक्रमबाट जनताको समुन्नत चेतना वृद्धि भएको देखेर खुसी लागेको बताउनुभयो ।
उहाँले निरन्तर योगमा सक्रिय महिलाहरूको समाज सेवाको भाव, सक्रियता र पहलकदमी प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

गोकर्णेश्वर नगरपालिकाका उपमेयर सान्नानी लामाले हाल नगरपालिका भित्र ३२ वटा योग केन्द्र सञ्चालनमा रहेको र नगरपालिका लागि योगमय नगरका रुपमा विकास गर्न लागिएको बताउनुभयो ।
उपमेयर लामाले पहिलो पटक अङ्ग दान गर्नुहुने दधीचि ऋषिले तपस्या गरेको वाग्मती र नागमतीको संगम स्थलमा दधिची ऋषिको आश्रम बनाएर ध्यान केन्द्रका रुपमा विकास गरिने उल्लेख गनुभयो ।

कार्यक्रममा उद्योगपति अर्जुन थापा, जनप्रतिनिधि कृष्ण तामाङ्ग, गीता सिंखडा, दामोदर खनाल र अनन्त अर्यालले नियमित योग र ध्यानबाट प्राप्त फाइदाका बारेमा जानकारी गराउँदै सबैलाई जागरूक गराउन प्रयास गरिने बिचार राख्नुभयो ।
पतञ्जलि योग समितिका नगर संयोजक जयराम घिमिरे, प्रमेश अधिकारी, केदार सिंखडा र गौतम खनालले योगका लागि आवश्यक भौतिक पूर्वाधारमा थप सहयोग गर्न नगरपालिकालाई आग्रह गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्