तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जस्थित औषधि व्यवस्था विभागद्वारा सात जनाविरुद्ध मुद्दा दर्ता

नेपालगञ्ज । नेपालगञ्जस्थित औषधि व्यवस्था विभागले गैरकानुनी काम गर्ने ७ जना औषधि व्यवसायी विरुद्ध मुद्दा दर्ता गरेको छ । गत आर्थिक बर्ष २०८०/८१ मा औषधि व्यवसायी विरुद्ध ७ वटा मुद्दा अदालतमा दर्ता गरेको कार्यालय प्रमुख निनु श्रेष्ठले बताउनुभयो ।

यस्तै आर्थिक बर्ष २०८०/८१ मा ४३ जनालाई विभागीय कारबाही गरिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्ला तथा लुम्बिनीका ६ वटा जिल्ला कार्य क्षेत्र रहेको औषधि व्यवस्था विभाग नेपालगञ्जले बाँकेका ३, कैलालीका २ र दाङका २ जना विरुद्ध अदालतमा मुद्दा दर्ता गरेको श्रेष्ठले जानकारी दिनुभयो । विभागीय कारबाहीमा पर्नेमा पनि सबैभन्दा बढी बाँकेका १९ जना छन् । यस्तै कैलालीका ८, बर्दिया ६, सुर्खेत ५, कालिकोट र बर्दिया २र२ र दाङका १ जना विभागीय कारबाहीमा परेको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।

औषधि व्यवस्था विभागले अनुचित र गैरकानुनी काम गर्ने औषधि व्यवसायीलाई दुई प्रक्रियाबाट कारबाही गर्ने गर्दछ । औषधि ऐन २०३५ र अदालती प्रक्रियाबाट कारबाही गर्ने व्यवस्था रहेको श्रेष्ठले जानकारी दिनुभयो । औषधि पसलहरूले चोरी पैठारी गरेर औषधि भित्र्याउने, औषधिको अनुचित प्रयोग तथा दुरुपयोग गर्ने लगायतका समस्या बढी देखिएको श्रेष्ठको भनाई छ ।

कम जनशक्ति र ठूलो कार्य क्षेत्र भएकाले सोचे जसरी अनुगमन गर्न नसकिएको औषधि व्यवस्था विभाग नेपालगन्जले जनाएको छ । प्रत्येक प्रदेश अन्तरगत कार्यालय विस्तार गर्दै हरेक स्थानीय तहमा कम्तीमा एक जना औषधि निरीक्षकको व्यवस्था गर्नुपर्ने कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button