तपाईँ सुन्दै हुनुहुन्छः

तीन वर्षदेखि थन्किएका सवारी साधन चलाउन मुख्यमन्त्रीको निर्देशन

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी विकास कोषमा तीन वर्षअघि अनुदानमा आएर थन्किएका सवारी साधन चलाउन निर्देशन दिनुभएको छ ।

कानुनी समस्याका कारण विकास कोषले ती साधन चलाउन नपाएको सूचना पाएपछि उहाँले कानुनी अड्चन सरकारले फुकाउने बताउँदै थन्किएर बसेका विद्युतीय सवारी साधनलाई छिटो सञ्चालनमा ल्याउन प्रक्रिया अघि बढाउन आग्रह गर्नुभयो

लुम्बिनीमा प्रदूषण कम गर्नका लागि एसियाली विकास बैङ्कको सहयोगमा ६ वटा बस र १३ वटा भ्यान गरी १९ वटा विद्युतीय सवारी साधन प्राप्त भएको थियो । हाल ती सवारी साधन नियमित सञ्चालनमा छैनन् । विदेशी पर्यटकलाई भैरहवा हुँदै बुद्ध जन्मस्थल लुम्बिनी तथा बुद्ध सर्किट क्षेत्रमा पर्ने स्थानहरू देवदह, तिलौराकोट, रामग्राम पुर्‍याउने उद्देश्य थियो । एसियाली विकास बैङ्कको अनुदान, भन्सार छुटबाहेक नेपाल सरकारको १३ करोड रकम खर्च भएको छ । हाल यी सवारी साधन लुम्बिनी विकास कोषको नाममा दर्ता भएका छन् ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराज शाक्यलाई मुख्यमन्त्री आचार्यले विद्युतीय सवारी साधन नियमित सञ्चालनको वातावरण निर्माण गर्न निर्देशन दिनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button