‘मुल नीतिका रुपमा रहेको राजनीति सफा गर्नु आवश्यक’
काठमाडौँ। ६०औँ राष्ट्रिय बाल दिवसका अवसरमा आज रेडियो नेपाल र बाल सङ्गठनको सहकार्यमा बालगीत प्रतियोगिता २०८१ आयोजना गरिएको छ ।

काठमार्डौंको बालमन्दिरमा आयोजित बालगित प्रतियोगिताको उद्घाटन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले रेडियो नेपाल र बालसंगठनको सहकार्यको निरन्तरतामा जोड दिनुभयो ।
सञ्चार मन्त्री गुरुङले मुलुकमा अस्थिर राजनीतिका कारण जनतामा उदासीनता र युवामा विद्वेष देखा परेको भन्दै मुल नीतिका रुपमा रहेको राजनीति सफा गर्नु आवश्यक रहेको औँल्याउनुभयो ।

मन्त्री गुरुङले राजनीतिमा इमान्दार र सेवा भावकासाथ काम गर्ने मानिसको अभाव हुँदा राजनीति फोहोर हुने भन्दै सचेत व्यक्ति, विद्यार्थी र बौद्धिक व्यक्तिले राजनीतिमा चासो राख्ने र राजनीतिलाई सही दिशामा ल्याउन भूमिका खेल्नुपर्ने बताउनुभयो ।


सञ्चार मन्त्री गुरुङले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एक आपसमा एकीकृत गर्ने सार्वजनिक सेवा प्रसारण ऐन पास भएको र यो कानुन बनेपछि रेडियो नेपालको विस्तार सँगै जनतालाई सूचित गर्ने जिम्मेवारी बहन गर्दै व्यवस्थित र बलियो बनाउन मद्दत पुग्ने बताउनुभयो ।

रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले रेडियो नेपाल र नेपाल बालसंगठनले लामो समयदेखि प्रत्येक वर्ष बालगीत प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो । बालबालिकाको जीवनमा प्रेरणा प्रदान गर्ने र जीवनमा उत्प्रेरित गर्ने गरी अभिभावकले भूमिका निर्वाह गर्नुपर्ने भन्दै नायव कार्यकारी निर्देशक खत्रीले बाल अधिकारको लागि भइरहेको लगानी अझै बढाउँदै लैजानु पर्नेमा जोड दिनुभयो ।
उहाँले रेडियो नेपाल र नेपाल बालसंगठनको सहकार्यमा भइरहेका यस्ता कार्यक्रमले बालबालिकाको भविष्य उजागर गर्न थप मद्दत पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

नेपाल बाल सङ्गठनका अध्यक्ष विद्या उपाध्याय न्यौपानेले बालबालिकासँग गरिने साना–सान कुराहरूले पनि ठूलो महत्व राख्ने भएकाले बालबालिकाका भावना बुझेर उनीहरूको जीवन सार्थक बनाउनेगरी काम गर्नुपर्ने बताउनुभयो ।
काठमार्डौंको बालमन्दिरमा आयोजना भइरहेको बालगीत प्रतियोगितामा १८ वटा समूहमा बालबालिकाले भाग लिएका छन् ।
हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बालदिवस मनाइन्छ यसवर्षको बालदिवसको नारा बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी रहेको छ ।
रेडियो नेपाल र बाल सङ्गठनको सहकार्यमा आयोजना भइरहेको बालगीत प्रतियोगिताको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।


























प्रतिक्रिया राख्नुहोस्