तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिमका प्रमुख राजमार्ग अवरुद्ध: जनजीवन प्रभावित

धनगढी । अविरल वर्षासँगै खसेको पहिरोका कारण सुदूरपश्चिमका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । राजमार्ग अवरुद्ध हुँदा सार्वजनिक यातायात सेवा प्रभावित भएको छ भने दर्जनौँ सवारीका साधन बिच बाटोमै रोकिएका छन् ।

वर्षासँगै मातिबाट सडकमा पहिरो खस्दा धनगढी-डडेलधुरा भिमदत्त राजमार्ग, दशरथ चन्द राजमार्ग, केआईसिंह राजमार्ग, जयपृथ्वी राजमार्ग अवरुद्ध भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।

अविरल बर्षाका कारण डडेलधुरा-डोटी जोड्ने केआईसिह राजमार्गको रडुवाखोला, डडेल्धुरा-बैतडी जोड्ने दशरथ चन्द राजमार्गको अनारखोली, खोड्पे-बझाङ जोड्ने जयपृथ्वी राजमार्गको जालीबगर, भीमदत्त राजमार्ग अन्तरगत कैलालीको फल्टुडेमा पहिरो खसेको ट्राफिक प्रहरी कार्यालयका असई गङ्गादत्त भट्टले बताउनु भयो ।

उहाँले भिमदत्त राजमार्गको विभिन्न ठाउँमा खसेको पहिरो डोजर लगाएर पन्छ्याउने काम भइरहेको बताउनु भयो । जालीबगर र रडुवाखोलामा गएको पहिरो हटाउन समय लाग्ने भट्टले जानकारी दिनुभयो । 

जनजीवन प्रभावित

दुई दिन देखि लगातार भइरहेको बर्षाका कारण सुदूरपश्चिम प्रदेशमा जनजीवन प्रभावित भएको छ । अविरल बर्षाका कारण पहाडी जिल्लाका विभिन्न ठाउँमा पहिरो खसेको छ भने तराई क्षेत्रमा बाढी र डुबान भएको छ । डोटीमा पहिराले एक दम्पती घाइते भएको र एक जना बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

लगातारको बर्षाका कारण कैलालीको जोशीपुर गाउँपालिका ३ मा सयौँ विघा धानखेती चुवानमा परेको स्थानीय भागिराम डगौराले बताउनु भयो । काडा नदीमा आएको बाढी बस्ती हुँदै धानखेतीमा पसेको उहाँले बताउनु भयो । यसैगरि बर्षाले कैलारी गाउँपालिकामा दर्जन बढी घरमा पानी पसेको स्थानीय प्रेम थारुले जानकारी दिनु भयो । 

भोली भदौ २९  गते सम्मै वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सवैलाई आह्वान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button