तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशसभा : गेटामा ३ सय शय्याको अस्पताल सञ्चालन गर्न माग

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकमा प्रदेश सभा सदस्यहरुले गेटामा ३ सय शय्याको अस्पताल सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिनुभएको छ ।

बैठकको आकस्मिक समयमा बोल्दै प्रदेश सभा सदस्यद्वय धर्मराज पाठक र जानकी पौडेलले अर्बाैको भौतिक संरचना निर्माण भएको गेटामा सरकारले मेडिकल कलेज स्थापनाका लागि तत्काल ३ सय शय्याको अस्पताल सुचारु गरिनु पर्ने माग गर्नुभयो । सरकारले अन्य ६ प्रदेशमा चिकित्सा शिक्षा अध्ययनका लागि अनुमति दिँदा भौतिक संरचना भएको सुदूरपश्चिम प्रदेशमा मेडिकल कलेजका लागी अनुमति नदिनु राज्यले विभेद गरेको भन्दै सरकारको सरकारको ध्यानाकर्षण गराउनु भयो । 

कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनका लागि सरकारले करिब ६ अर्बको लागतमा भौतिक पूर्वाधारका संरचना निर्माण सम्पन्न गरेको छ ।

यस्तै, आजको बैठकमा आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले प्रदेशको राजस्व सङ्कलन सम्बन्धी अध्यादेश २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक टेबुल गर्नु भयो । 

यसैगरी उहाँले बैठकमा महालेखा, प्रदेश लोक सेवा आयोग, मुख्यन्यायधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेश गर्नुभयो । सभामुख भिम बहादुर भण्डारीले तीन वटै प्रतिवेदन अध्ययनका लागि सम्बन्धित विषयगत समितिमा पठाइने बैठकमा जानकारी दिनु भयो ।

प्रदेश सभाको अर्को बैठक भोली दिउसो १ बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button