तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज जनकपुरधाममा मधेश प्रदेश सरकारसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सरकारले कृषि तथा पशुपन्छी बिमामा थप अनुदान दिन रू. दुई करोड छुटाएको जानकारी दिनुहुँदै अन्य प्रदेशमा सुरु गरिएको घर बीमा र दुर्घटना बीमाको प्रभावकारितालाई अध्ययन गरेर त्यसतर्फ अगाडि बढ्ने बताउनुभयो ।

मुख्यमन्त्री सिंहले बीमा गरेपछि बीमा कम्पनीहरू बीमितसँग सम्पर्कमा नरहने गरेको गुनासाहरू आउने गरेको उल्लेख गर्नुहुँदै बीमा गराउँदा बिमाका शर्तबारे बीमितलाई राम्रोसँग बुझाउनुपर्ने र बीमा सर्भेयर तथा बीमा अभिकर्ताका कामलाई लिएर आउने गरेका गुनासाहरूलाई सम्बोधन गर्न प्राधिकरणले अनुगमनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा जटिल विषय नभएको उल्लेख गर्नुहुँदै दैनिक दुई कप चिया घटाउने हो भने त्यसको पैसाले बीमा गर्न पुग्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले प्राधिकरणको काम, कर्तव्य र अधिकार, बीमा क्षेत्रको विद्यमान अवस्था, प्रदेश बीमा नीतिको आवश्यकता र बीमाको विकास एवम् विस्तारमा प्रदेश सरकारको भूमिका सम्बन्धी प्रस्तुती गर्नुभएको थियो ।

कार्यक्रममा मधेश प्रदेशका मन्त्री, प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश मन्त्रालयका सचिव तथा सहसचिव, विभिन्न निकायका प्रतिनिधि र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रदेश कार्यालय प्रमुखहरू लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख प्रीति देवले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button