प्रतिनिधि सभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य बस्तुमा मूल्यवृद्धि हुँदा जनजीवन कष्टकर बन्दै गएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसदहरुले चाडवाड नजिकिएसँगै उपत्यकाबाट बाहिर चाडवाड मनाउन जानेको सङ्ख्या बढ्दै जाने भएकाले सडकका खाल्डाखुल्डी पुर्न र समयमा नै स्तरोन्नति गर्न सरकारसँग आग्रह गर्नुभयो ।
सांसदहरुले उपत्यकाका नदी किनारका २० मिटरसम्मका संरचना हटाउनु पर्ने विषयले स्थानीयलाई पीडित बनाएको भन्दै यसको पुनरावलोकन गर्न आग्रह गर्नुभयो ।
सांसदहरुले सुकुम्वासी र दलित भूमिहीनका लागि आवास र जमिन उपलब्ध गराउने भन्ने विषय लामो समयसम्म अन्यौलमा रहँदा धेरै भूमिहीन पीडित भइरहेको भन्दै शक्तिशाली भूमि आयोग गठन गरी छिटो समस्या समाधान गर्न माग गर्नुभयो ।
सांसदहरुले स्थानीय तहमा छात्रवृत्तिको रकम हिनामिना भइरहेको विषयमा गम्भीरता पूर्व समयमा अनुगमन गर्न सरकारसँग माग गर्नुभयो ।
बैठकमा सत्तापक्ष दलका सांसदहरुले उपसभामुख इन्दिरा रानाको विषयमा प्रश्न उठेकाले नैतिकताका आधारमा राजीनामा दिन माग गर्नुभयो ।
प्रमुख प्रतिपक्षी लगायतका प्रतिपक्षी दलका सांसदहरुले उपसभामुख रानालाई पदबाट हटाउन खोजेको भन्दै त्यसको विरोध गर्नुभयो ।
यसअघि बैठकको आकस्मिक समयमा प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदबाट इन्दिरा रानालाई हटाउन खोजेको भन्दै आपत्ति जनाएको छ ।
प्रतिपक्ष दल रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानामाथि महाअभियोग लगाउने कुरा मान्य नहुने बताउनुभयो ।
उहाँले अहिलेको सहजताका लागि काम गरे भोलि समस्या हुने चेतावनी दिँदै कुनै परिषद्मा बहुमत नपुग्ने नाममा उपसभामुखलाई पदबाट हटाउने कुरा स्वीकार्य नहुने पनि बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्