सङ्गठन सुदृढीकरणमा लाग्न अध्यक्ष दाहालको जोड
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सङ्गठनलाई सुदृढ गरेर भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम अघि बढाउने सोचमा आफू रहेको बताउनुभएको छ । साथै उहाँले पार्टीलाई सुदृढ तुल्याउनेतर्फ दत्तचित्त भएर लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
सिरहाको कर्जन्हा नगरपालिकामा आयोजित पार्टी कार्यकर्ता तथा स्थानीयबासीसँगको भेटघाटमा उहाँले त्यसकै लागि आफूहरू देशव्यापी बैठक र छलफलमा जुटेको बताउनुभयो ।
पार्टीको मधेस प्रदेशस्तरीय परामर्श बैठकमा भाग लिने क्रममा सिरहा पुग्नुभएका अध्यक्ष दाहालले मुलुकको अहिलेको समस्या भ्रष्टाचार भएकाले जनतालाई साथमा लिएर भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलन गर्ने बताउनुभएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।
अनुचित लेनदेन (मिटरब्याज)लगायत तमाम बेथितिका विरुद्ध आफूहरूले सरकारबाट सङ्कल्पका साथ सङ्घर्ष सुरु गरेको स्मरण गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “अब हामी पार्टी सुदृढ गरेर देशैभरि पार्टी पुनर्गठन गर्दै बलियो पार्टी बनाएर भ्रष्टाचारका विरुद्ध तलैबाट आन्दोलन सिर्जना गर्ने सोचमा छौँ ।”
आफ्नो पार्टीले अघि सारेको गणतन्त्र, सङ्घीयता, समावेशी, समानुपातिक ‘एजेण्डा’प्रति मधेसी जनसमुदायको अपार विश्वास भएको उल्लेख गर्दै उहाँले यो विश्वासलाई कमजोर हुन नदिएर सोहीअनुसार पार्टी सङ्गठन र नेतृत्व स्थापित गरेर जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । पार्टीलाई मधेसमा थप एकताबद्ध र सुदृढ बनाउँदै पहिलो पार्टीको रुपमा स्थापित गरेर स्थानीय, प्रदेश र सङ्घीय सरकारमा सशक्त हस्तक्षेप बढाउन पनि मधेस प्रदेशको महत्वपूर्ण भूमिका रहने विश्वास उहाँले व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्