तपाईँ सुन्दै हुनुहुन्छः

४५ औँ पर्यटन दिवसको अवसरमा खाना महोत्सव तथा साङ्गीतिक साँझ हुने

रुपन्देही । ४५ औँ पर्यटन दिवसको अवसरमा भैरहवामा खाना महोत्सव तथा साङ्गीतिक साँझ हुने भएको छ । नेपाल होटल सङ्घको क्षेत्रिय संस्थाका रुपमा रहेको सिद्धार्थ होटल सङ्घले (सान) ले यही असोज ११ र १२ गते भैरहवामा कार्यक्रम गरी मनाउने भएको हो ।

कार्यक्रममा सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वारका रुपमा भैरहवा रहेकाले लुम्बिनी आउने पर्यटकहरूको उच्चस्तरीय आतिथ्यताका लागि सदैव तत्पर रहेको बताउनुभयो ।

कार्यक्रम संयोजक विनोद खरेलले आर्थिक रूपमा ठप्प भएको बजार र पर्यटन छेत्रको विकासको लागि कार्यक्रमको महत्व रहेको बताउनुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको उपस्थितिमा भव्य रूपमा आयोजना गराउने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महोत्सवमा प्रदेशभरिबाट ५ तारे होटल, ४ तारे होटल, ३ तारे होटल तथा अन्य सुविधा सम्पन्न होटल तथा रेष्टुरेण्टहरुका आकर्षक स्टलहरू रहने आयोजकको भनाई छ ।

उक्त कार्यक्रममा पहिलो दिन (असोज ११) मा गायक दुर्गेश थापा, गायिका समीक्षा अधिकारी, भोजपुरी गायिका सन्जना सिल्क, गायिका तथा डान्सर इन्दु दनुवार, बैन्ड–लाइभ सिंगर अफसर अली र दोस्रो दिन (असोज १२) गायिका अस्मिता अधिकारी, गायिका प्रिती पासवान, भोजपुरी गायिका सन्जना सिल्क, गायिका प्रशंसा पाण्डे, बैन्डसहित मनिष कार्कीको प्रस्तुति रहने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button