तपाईँ सुन्दै हुनुहुन्छः

‘बीपी विचार र आदर्श अहिले पनि उत्तिकै सान्दर्भिक’

नेपालगञ्ज । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

नेपाली कांग्रेस बाँकेले पनि पार्टीका संस्थापक नेता, पूर्व पार्टी सभापति कोइरालाको जन्मजयन्तीका अवसरमा आज नेपालगञ्जमा विचार गोष्ठी र माल्यार्पण कार्यक्रम गरेको छ । बिहान बीपी चोकमा बिपीको शालिकमा माल्यार्पण र दिउँसो पार्टी कार्यालयमा ‘बिपीको समाजवाद र आजको सन्दर्भ विषयक विचार गोष्ठी गरिएको हो । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको १९७१ भदौ २४ गते जन्म भएको थियो ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको सभापतित्वमा माल्यार्पण कार्यक्रम सम्पन्न भएको थियो । उपसभापति गोपाल प्रसाद अधिकारीले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको कार्यक्रममा सभापति गौडेलले बिपीको शालिकमा माल्यार्पण गर्नुभएको थियो । त्यसक्रममा बोल्दै उहाँले बिपीको आदर्श नेपाली राजनीतिका लागि पाठशाला भएको बताउनुभयो । बीपी विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गर्दै उहाँले बिपीको आदर्श कांग्रेसको गहना भएको बताउनुभयो ।

पार्टी कार्यालयमा आयोजित विचार गोष्ठीमा बोल्दै प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य मैकुलाल वाल्मीकिले करिब ५० बर्ष अगाडि बिपीले अपनाएको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताउनुभयो । उहाँले बिपीको समाजवादको समयसापेक्ष प्रयोग र व्याख्या हुनुपर्नेमा जोड दिनुभयो । उहाँको नीति र आदर्श अहिले पनि उत्तिकै व्यवहारिक रहेको वाल्मीकिको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button