तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश : प्रदेश निजामती सेवा ऐन संशोधन प्रस्ताव स्वीकृत गर्ने निर्णय

बाँके । लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी व्यवस्था गर्न बनेको ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ।

सोमवार सम्पन्न प्रदेश मन्त्रिपरिषद्को बैठकले ऐन संशोधनको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको हो। यसबारे सरकारका प्रवक्ता तथा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो ।

प्रदेश सरकारका अनुसार विभिन्न दफा र उपदफाहरूमा संशोधन गर्नुपर्ने आवश्यकता महसुस भएपछि ऐन संशोधनको प्रस्ताव अघि बढाइएको हो। निजामती सेवा ऐनको मस्यौदा २०८० असार २२ गते प्रदेश सभामा दर्ता भएको थियो भने भदौ २२ गते सभाबाट पारित भएको थियो। मङ्सिर २१ गते प्रदेश प्रमुखले उक्त विधेयकलाई प्रमाणीकरण गरेपछि ऐन कार्यान्वयनमा आएको थियो।

प्रदेश सरकारले ऐनमा देखिएका केही त्रुटिहरू र समयसापेक्ष आवश्यकताहरूलाई ध्यानमा राख्दै संशोधन प्रस्ताव ल्याएको बताएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले ऐन संशोधनको प्रस्ताव प्रदेश सभामा पेश गर्ने निर्णय गरेको हो। प्रस्तावको विधिवत् दर्ता आगामी प्रदेश सभा बैठकमा गरिनेछ र त्यसपछि नै सभामा छलफलका लागि प्रस्तुत हुनेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button