तपाईँ सुन्दै हुनुहुन्छः

राजदूत नियुक्तिलाई समावेशी बनाउने प्रयास: परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले सरकारले राजदूत नियुक्तिका लागि सिफारिस गर्दा सकेसम्म समावेशी बनाउने प्रयास गरेको बताउनुभएको छ । 

संसदीय सुनुवाइ समितिको आजको बैठकमा मन्त्री देउवाले राजदूत नियुक्तिका लागि सिफारिस गर्दा सकभर समावेशी नै बनाउने प्रयास गरेको भएपनि केही प्रश्न उठेको भन्दै संसदीय सुनुवाइ समितिको सुझाव र निर्देशनलाई सरकारले सुन्ने र कार्यान्वयन गर्ने बताउनुभयो ।

मन्त्री देउवाले यसपटक महिलालाई प्राथमिकता दिएको भएपनि पर्याप्त भएन भन्ने कुरा आएकाले यसलाई आगामी दिनमा सरकारले थप ध्यान दिने र अब हुने राजदूतको नियुक्ति समावेशी नै हुन्छ भन्ने विश्वास दिलाउन चाहेको पनि बताउनुभयो । 

परराष्ट्रमन्त्री देउवाले संविधानमा समानुपातिक समावेशिताको विषय स्पष्ट हुँदाहुँदै पनि कतिपय ठाउँमा त्यो कार्यान्वयनका जान कठिन भएकाले नियमावली र निर्देशिकाहरु बनाउँदा समावेशीता तोकेर नै बनाउने कुरामा लाग्नु आवश्यक देखिएको समेत बताउनुभयो । 

छलफलमा सांसदहरुले विभिन्न देशका लागि १७ जना राजदूतको सिफारिस हुँदासमेत समानुपातिक समावेशी रुपमा सिफारिस हुन नसकेको, मधेशी, दलित मुस्लिम, लगायतका समुदायको प्रतिनिधित्व हुन नसकेको, संविधान कार्यान्वयनमा ध्यान नदिइएको विषयमा परराष्ट्रमन्त्रीसँग प्रश्न गर्नुभएको थियो । 

सांसदहरुले राज्यका हरेक निकायका नियुक्तिमा समानुपातिक समवेशीतालाई ध्यान दिन, राजदुुत नियुक्ति गर्दा कूटनीतिक सिप क्षमता र योग्यता मुुल्याङ्क गर्न तथा सरकार फेरिएपिच्छे राजदूत फेर्ने विषयले कूटनीतिमा असर पर्ने भन्दै उसको काम र क्षमता मूल्याङ्कन गरी समय थप्ने लगायतका विषयमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।

गत साउन १४ गते सरकारले विभिन्न १७ देशका लागि राजदूतहरूको नाम सिफारिस गरेको थियो । सरकारले भारतका लागि डा. शङ्कर शर्मा, चिनका लागि प्राध्यापक डाक्टर कृष्णप्रसाद ओली, संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, चन्द्रकुमार घिमिरे संयुक्त अधिराज्य, डा. शिवमाया तुम्बाहाम्फे दक्षिण कोरिया, प्राध्यापक धनप्रसाद पण्डित इजरायल, रामकृष्ण भट्टराई श्रीलङ्का र रीता धिताललाई पाकिस्तानको लागि आवासीय नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

यसैगरी, सरकारले नरेशविक्रम ढकाल साउदी अरेबिया, प्राध्यापक डाक्टर कपिलमान श्रेष्ठ दक्षिण अफ्रिका, सनिल नेपाल स्पेन, डाक्टर शैल रुपाखेती जर्मनी, जङ्गबहादुर चौहान रुसी महासङ्घ, रमेशचन्द्र पौडेल कतार, सुम्निमा तुलाधर डेनमार्क, डा नेत्रप्रसाद तिमिल्सिना मलेसिया र प्रकाशमणि पोखरेललाई पोर्चुगलका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button