अलैँचीको मूल्यमा वृद्धिले उत्साहित
धनकुटा । खोल्सीको कालो सुनको उपनामले परिचित नगदेबाली अलैँचीको नयाँ फसलको मूल्यमा आएको वृद्धिले किसान तथा व्यवसायी उत्साहित बनाएको छ ।
नयाँ अलैँची कारोबार हुने सुरु समयमा नै बजारमा निस्कन थालेको अलैँचीको मूल्यमा दिनानुदिन उकालो लाग्ने क्रमले किसान तथा व्यापारीलाई उत्साहित बनाएको हो ।
अहिले अलैँचीको मूल्य प्रतिमन ८४ हजार रहेको छ । अघिल्ला वर्षहरुमा कृषकको उत्पादन सकिएसँगै मूल्य बढ्ने र कृषकको उत्पादन हुन थालेपछि मूल्य घट्ने गरेपनि यो वर्ष भने नयाँ अलैँची उत्पादन हुँदा समेत मूल्य नघटेकोले आफूहरू उत्साहित रहेको पाख्रिवास नगरपालिका–२ का अलैँची कृषक निर्मल स्याङदेन बताउनुभयो ।
२०७१ सालमा १ लाख २० हजार प्रतिमन पुगेको अलैँची त्यस यता भने निरन्तर ओरालो लाग्दै आएको थियो । २०७४ सालमा ६० हजारबाट ओरालो लागेको मूल्य गत पुससम्म प्रतिमन २५ हजार रुपैयाँले कारोबार भएको अलैँची त्यसयता भने अलिअलि बढ्दै गएको हिलेका अलैँची व्यापारी श्याम शाह बताउनुहुन्छ । गत बर्ष करिब ६० हजार रुपैयाँ प्रतिमनसम्म पुगेको उहाँको भनाई छ ।
धनकुटामा करिब ४ दशक यता अलैँचीको खेती हुँदै आएको छ । जिल्लामा करिब १ सय १२ हेक्टर क्षेत्रफलबाट ३६ मेट्रिकटन अलैँची उत्पादन हुने गरेको छ ।
धनकुटामा आर्थिक बर्ष २०७४÷०७५मा सबैभन्दा धेरै क्षेत्रफलमा खेती र अलैँचीको उत्पादन भएको थियो ।
कृषि ज्ञान केन्द्र धनकुटाले दिएको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७४÷०७५ मा २३० हेक्टर क्षेत्रफलबाट १३४ मेट्रिकटन अलैँची उत्पादन भएको थियो ।
त्यसयता भने विभिन्न रोग किरोको प्रकोपको कारण अलैँचीको उत्पादन निरन्तर ओरालो लाग्दै आएको छ ।
पूर्वका धनकुटासहित सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम जिल्लामा बढी मात्रामा अलैँची उत्पादन हुने गरेको छ ।
हाल नेपालमा राम साही, गोल्साही, डम्बरसाही, जिर्मले, चिबेसाहीलगायतका जातका अलैँचीको खेती हुने गरेको छ । मसला, औषधि, तेल र मद्यपान बनाउन अलैँचीको प्रयोग गरिने गरेको छ । अलैँची पूर्वको काँकडभिट्टा र विराटनगरबाट भारत निर्यात हुने गरेको छ । औल क्षेत्रमा साउनबाटै अलैँचीको उत्पादन सुरु भएपनि माथिल्लो तथा लेकाली क्षेत्रमा अलैँची कात्तिकमा मात्रै निस्कने गर्छ ।








प्रतिक्रिया राख्नुहोस्