चोभारमा निर्माणाधीन पुष्प तथा फलफूल बजारको निर्माण चाडै सम्पन्न गर्न कृषि मन्त्री अधिकारीको निर्देशन

काठमाडौँ।कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले काठमाडौँको चोभारमा निर्माणाधीन पुष्प तथा फलफूलको थोक बजारको निर्माणको काम तत्काल पुरा गर्न निर्देशन दिनुभएको छ ।
२०७३ असारमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी सुरु भएको बहुतले भवनको काम अहिलेसम्म पनि पुरा नभएपछि कृषि मन्त्री अधिकारी शुक्रबार दिउँसो निरीक्षणका लागि चोभार पुग्नुभएको थियो ।
११औ पटक थपिएको म्याद सकिन केही दिन मात्र बाँकी छ । तर, २३ रोपनी क्षेत्रफलभित्र निर्माणाधीन बहुतले भवनको अझै १३ प्रतिशत काम बाँकी छ । त्यसप्रति चासो र चिन्ता व्यक्त गर्दै कृषि मन्त्री अधिकारीले तोकिएको समय सीमाभित्र कार्यसम्पादन गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको हो । सम्झौता अनुसार काम नसकिए कानुन अनुसार कारबाही हुने र गर्ने जनाउँदै मन्त्री अधिकारीले तत्काल भवन बाँकी काम सम्पन्न गर्न निर्देशन दिनुभयो ।

पुष्प तथा फलफूल थोक बजार तत्काल सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिँदै मन्त्री अधिकारीले त्यसका लागि मन्त्रालय आवश्यक सहजिकरण गर्नका लागि तयार रहेको भन्दै भवन सञ्चालनमा आउँदा उत्पादक र उपभोक्ता दुवै लाभान्वित हुने भएकाले मन्त्री अधिकारीले भवन निर्माणमा कुनै पनि बहाना नगर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभएको छ ।
२ वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७३ असोजमा करिब ३५ करोड रुपैयाँको लागतमा बहुतले भवन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।सम्झौता अनुसार काम नभएपछि २०८०चैत १३ गते २०८१ भदौ मसान्तभित्र काम सम्पन्न गर्ने गरी ११औँ पटक म्याद थप भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्