पोखराबाट असोजको पहिलो साता देखि सुकिला नोट वितरण हुने

पोखरा । पर्यटकीय नगरी पोखरामा यस वर्षको वडा दशेैं पर्व लक्षित हुने गरी आउँदो असोजको पहिलो साता देखि सुकिला नोट सटही हुने भएको छ ।
नेपालीहरूको महान् पर्व दशैं पर्वको अवसरमा नेपाल राष्ट्र बैङ्क पोखरा कार्यालयलले आउँदो पहिलो साता देखि सुकिला नोट सटही गर्ने व्यवस्था मिलाउने भएको कार्यालयका निर्देशक विना ढकाल (पौडेल) ले बताउनु भयो ।
राष्ट्र बैङ्क केन्द्रको निर्देशन अनुसार यस बर्ष नयाँ नोट सटही नहुने भएकोले बजारमा एक पटक पुगेका चलन चल्तीमा प्रयोग गर्न मिल्ने झुत्रो नभएका नोटहरू सटहीको व्यवस्था गर्ने तयारी गरेको उहाँले जनाउनु भयो । आम सर्वसाधारणको लागि अघिल्ला बर्ष झैँ यस बर्ष पनि सानो नोट (५, १०, २०, ५० र १००) का एक/एक बण्डल १८ हजार ५ सय बराबरको सटहीको व्यवस्था गरिएको उहाँले जनाउनु भयो । पोखरा क्षेत्रमा सेवाग्राहीको माग बमोजिम सुकिला नोटको प्रबन्ध गर्ने निर्देशक पौडेलले जनाउनु भयो । कार्यालयले यस बर्ष बैङ्क तथा वित्तीय संघ संस्थाहरूको लागि समेत सुकिला नोट उपलब्ध गराउने भएको हो ।
पोखरामा दशैं पर्वको अवसरमा करिब डेढ देखि २ अर्बको नयाँ नोट सटही हुँदै आएको नेपाल राष्ट्र बैङ्क पोखरा कार्यालयले जनाएको छ । नयाँ नोटमा छपाई खर्च बढी हुने पछिल्लो समयमा डिजिटल कारोबार बढी भएकोले सुकिला नोट स्टक धेरै भएकोले गर्दा नेपाल राष्ट्र बैंकले यस बर्ष नयाँ नोट नछापेका कारण सटही समेत नगरेको हो ।







प्रतिक्रिया राख्नुहोस्