अक्सिजनको अभावमा नवजात शिशुको मृत्यु
वीरगञ्ज । रौतहटको बौधीमाई नगरपालिकाबाट आज बिहान थप उपचारका लागि वीरगञ्ज ल्याउँदै गरेको एक नवजात शिशुको एम्बुलेन्समा अक्सिजनको अभाव हुँदा बाटोमै मृत्यु भएको छ ।
रौतहटको बौधीमाई नगरपालिका–४ स्थित इनरवारी स्वास्थ्य चौकीमा जन्मिएका एक नवजात शिशुको आज बिहान मृत्यु भएको हो । जन्मिएको करिब २ घण्टामै नवजात शिशुको मृत्यु भएको शिशुका बुबा गौरीशंकर पटेलले बताउनुभयो ।
उनी बौधीमाई नगरपालिका–४ निवासी हुन् । उनका अनुसार आज बिहान पौने ३ बजे इनरवारी स्वास्थ्य चौकीमा छोरीको जन्म भएको थियो । बर्थिङ सेन्टरमा जन्मिएको केही समयपछि शिशुको मुटुको चालमा समस्या आउँदा थप उपचारका लागि वीरगन्ज रिफर गरिएको थियो ।
उपचारका लागि वीरगन्ज ल्याउने क्रममा एम्बुलेन्सको अक्सिजन सिलिन्डरमा ग्यास अभाव हुँदा शिशुको मृत्यु भएको इनरवारी स्वास्थ्य चौकीका इन्चार्ज अकलेश ठाकुरले बताउनुभयो । बौधीमाई नगरपालिकाका प्रमुख प्रदीप कुमार यादवले स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा अक्सिजन सिलिन्डरमा ग्यास अभाव नभएको प्रतिक्रिया दिनुभयो ।
बच्चालाई थप उपचारका लागि लैजाने क्रममा एम्बुलेन्सको अक्सिजन सिलिन्डरमा ग्यास अभाव हुँदा शिशुको मृत्यु भएको उहाँले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्