पोखराको लामाचौरमा मङ्गलवारदेखि राष्ट्रिय भलिबल प्रतियोगिता हुने
पोखरा । लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८१ भोलि(मङ्गलवार) देखि सुरु हुने भएको छ । यही भदौ २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै टिमतर्फ चार–चार टिमको सहभागिता हुने लामाचौर महोत्सवका प्रचार प्रसार संयोजक दिनेश भण्डारीले बताउनुभयो ।
आयोजक नव आदर्श सामुदायिक विकास समाजले खेल तालिका समेत सार्वजनिक गरेको छ । मङ्गलवार बिहान ८ बजे महिलातर्फ उद्घाटन खेलमा एपिएफ र गण्डकी प्रदेश भलिबल एसोसिएसनबीच प्रतिस्पर्धा हुने छ । दोस्रो खेल बिहान १० बजे टिपटप न्यू डायमन्ड युथ स्पोर्टस् क्लब र एभरेष्ट भलिबल क्लबबिच हुने भएको हो ।
त्यसै गरी मङ्गलवार नै पुरुषतर्फ बिहान सवा १२ बजे एपिएफ र ट्राभल इन्क्वायरी गलकोटबिच प्रतिस्पर्धा हुने भएको छ । दिउँसो सवा २ बजे दोस्रो खेलमा गण्डकी प्रदेश भलिबल टिम र नेपाल पुलिसबिच खेल हुने भएको छ । राउण्ड रोविनको आधारमा खेल सञ्चालन हुने भएको हो । महिलातर्फ ११ औँ र पुरुषतर्फ तेस्रो संस्करणको लामाचौर भलिबल कप हो ।
दुवैतर्फ विजेताले १ लाख ५० हजार १११, उपविजेतालाई १ लाख, तेस्रोलाई ५० हजार नगद पुरस्कार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडी एवं विधागत पुरस्कार पनि व्यवस्था गरिएको छ ।









प्रतिक्रिया राख्नुहोस्