बाँकेको नरैनापुरमा ४ जनाको शङ्कास्पद मृत्यु भएपछि अनुसन्धान थालियो
नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँका ४ जनाको शङ्कास्पद मृत्यु भएपछि अनुसन्धान थालिएको छ ।
गेगलीमा एउटै घरका ३ जना र अन्य एक जनासहित ४ जनाको शङ्कास्पद मृत्यु भएको छ । उनीहरू मध्ये २ जना भारतबाट उपचार गरेर फर्केपछि र बाँकी दुई जनाको नरैनापुरमै उपचार गर्दा गर्दै मृत्यु भएको स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र शाहले जानकारी दिनुभयो । मृतक सबैमा उच्च ज्वरो आएको थियो ।
मृत्यु हुनेमा ३६ वर्षीय उषादेवी पासवान, १ वर्षीय नन्दनी पासवान, ७२ वर्षीय शान्ति देवी र १२ वर्षीय सुखिया अलिशेष छन् । उषा र शान्तिको १४ गते र नन्दनी र सुखियाको आइतबार मृत्यु भएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अहिले हामी स्वास्थ्यकर्मीको टोलीसहित गाउँमै आएका छौँ । झाडापखालाबाट मृत्यु भएको हो वा विषाक्त खानाबाट मृत्यु भएको हो भन्नेबारे अनुसन्धान गरिरहेका छौँ ।” झाडापखालाबाट मृत्यु भएको भनिए पनि पुष्टि नभएको उहाँको भनाई छ ।
गाउँका अन्य १५ जनाको अवस्था पनि गम्भीर रहेको बताइएको छ । उनीहरूमा अन्य रोगको संक्रमण पनि हुन सक्ने अनुमान गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्