मेची भन्सारबाट निर्यात घट्यो
भद्रपुर (झापा) । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा रु एक अर्ब ८० करोड ८२ लाख ९९ हजार बराबरको माल वस्तु निर्यात गरेको छ ।
जुन गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ३३ दशमलव ९८ प्रतिशत अर्थात् रु ९३ करोड सात लाख ३५ हजारले घटेको हो ।
कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार गत आवको साउन महिनामा रु दुई अर्ब ७३ करोड ९० लाख ३४ हजार बराबरको माल वस्तु निर्यात भएको थियो । यहाँबाट चिया, प्लाइउड, फलाम तथा फलामका सामग्री, अलैँची, अदुवा, अम्रिसो, भेनियर सीट, छुर्पी, मोलासिस, काउली, बन्दागोभी, ब्रोकाउली लगायतका माल वस्तु निर्यात हुने गरेका छन् ।
प्राप्त विवरणअनुसार गत साउनमा रु ५१ करोड २२ लाख ७८ हजारको चिया निर्यात हुँदा रु ३७ करोड ११ लाख १३ हजार बराबरको प्लाइउड निर्यात भएको छ, जुन गत आव २०८०र८१ को तुलनामा क्रमशः ३८ दशमलव ०८ र ४३ दशमलव ४९ प्रतिशतले बढी हो ।
यसैगरी गत साउनमा रु १६ करोड १२ लाख ५२ हजार बराबरको अलैँची र रु ३४ करोड ९२ लाख ५९ हजार बराबरका फलाम तथा फलामका सामग्री निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।
गत आवको साउन महिनाको तुलनामा यो ८३ दशमलव २८ प्रतिशत र २९ दशमलव ७६ प्रतिशतले घटेको हो ।
यस्तै, भेनियर सिटको निर्यात सबैभन्दा धेरै पाँच सय तीन दशमलव ९७ प्रतिशतले बढ्दा छुर्पी, अदुवा, अम्रिसो, काउली, बन्दागोपी, ब्रोकाउलीलगायतका वस्तुको निर्यात घटेको मेची भन्सार कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्