बी.पी. कोइराला स्मृति साहित्य सम्मान वरिष्ठ साहित्यकार श्रेष्ठ र प्रजातन्त्र सेनानी सम्मान भण्डारीलाई

काठमाडौँ । जननायक बी.पी. कोइराला स्मृति ट्रष्टले २०८१ को बी.पी. कोइराला स्मृति साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार द्वारिका श्रेष्ठ (काठमाडौँ) लाई प्रदान गर्ने निर्णय गरेको छ ।
यसैगरी २०८१ को बी.पी. कोइराला स्मृति प्रजातन्त्र सेनानी सम्मान पुरस्कार, प्रजातन्त्र स्थापनाको सङ्घर्षमा महत्वपूर्ण योगदान पुर्याउने भोजराज भण्डारी (कास्की) लाई प्रदान गर्ने निर्णय गरेको ट्रष्टको कार्यसमितिका महासचिव रामचन्द्र पोखरेलले जानकारी दिनुभयो ।
दुवै पुरस्कारको राशि क्रमशः १ लाख एक हजार रुपैयाँ र ५१ हजार रुपैयाँ तथा सम्मान पत्र रहेको छ ।
१ सय ११औँ बी.पी. जन्मजयन्तीका अवसरमा यही भाद्र २४ गते राष्ट्रपति कार्यालय, शितलनिवास, काठमाडौँमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने महासचिव पोखरेलले बताउनुभयो ।
गत वर्ष २०८० को साहित्य सम्मान डा.राजेन्द्र विमल (जनकपुर) र प्रजातन्त्र सेनानी सम्मान डिल्लीरमण शर्मा (रुपन्देही) लाई प्रदान गरिएको थियो । उक्त सम्मान पुरस्कार बी.पी.ट्रष्टले जननायक बी.पी.कोइरालाको शतवार्षिक वर्ष २०७१ बाट निरन्तर प्रदान गर्दै आएको छ ।







प्रतिक्रिया राख्नुहोस्