तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा एमालेलाई ४ र काँग्रेसलाई ५ मन्त्रालय बाँडफाँड

पोखरा । गण्डकी प्रदेशमा नेकपा एमालेलाई ४ र नेपाली काँग्रेसको भागमा ५ मन्त्रालय बाँडफाँड हुने सहमति अनुसार ९ वटा मन्त्रालय बनाउने निर्णय भएको छ ।
गण्डकी प्रदेशको आज बसेको क्याबिनेट बैठकले प्रदेशमा हाल कायम रहेको ७ मन्त्रालयबाट २ मन्त्रालय थप गरी ९ मन्त्रालय पुर्‍याउने निर्णय गरेको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराउनुभयो ।
मन्त्रालय ७ वटा भए पनि संरचना भने ९ मन्त्रालयमा मन्त्रीबाहेक अन्य संरचना भएकोले प्रदेशको खासै धेरै आर्थिक व्ययभार नहुने उहाँले जनाउनुभयो । वन वातावरण तथा उद्योग पर्यटन एउटा भए ता पनि उद्योग पर्यटनको सङ्गठन छुट्टै वन वातावरणको संरचना छुट्टै कार्यालय र सचिवहरू नै छुट्टै रहेको उहाँले उल्लेख गर्नुभयो । त्यसै गरी सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयमा पनि मन्त्री एक जना हुनुहुन्थ्यो तर मन्त्रालय र सचिव छुट्टै भएकोले सामाजिक विकास र स्वास्थ्यसम्बन्धी छुट्टै मन्त्रालय बनाइने भएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।
अन्य प्रदेश भन्दा गण्डकी प्रदेशमा फरक भएकोले एमालेको सहमतिमा नयाँ सरकार बनाउन केही समय ढिलाइ भएको उहाँले जनाउनुभयो । हाल कायम मन्त्रीहरूलाई भने नहटाउने उहाँले बताउनुभयो ।
कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा छलफल हुन बाँकी रहेको छ । मुख्यमन्त्री पाण्डे आफूलाई विश्वासको मत दिने नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर निर्वाचित नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङलाई समेत समेटेर सरकार पुनर्गठन गर्ने योजनामा देखिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button