दातृ निकाय तथा मुलुकहरूबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय
काठमाडौँ । नेपालले विभिन्न दातृ निकाय तथा मुलुकहरूबाट प्राप्त हुने ५ अर्ब १३ करोड ४३ लाख अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गत बिहीबारको मन्त्रिपरिषद् बैठकले अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम, तेस्रो चरणको कार्यान्वयनका लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो तथा युनिसेफबाट प्राप्त हुने २ मिलियन युरो गरी २५ मिलियन युरो अर्थात् ३ अर्ब ६७ करोड ४६ लाख बराबरको अनुदान रकम स्वीकार गर्ने निर्णय भएको हो ।
त्यसै गरी सरकारले जर्मनी सरकारबाट ऊर्जा सुदृढीकरण कार्यक्रमको कार्यान्वयनका लागि प्राप्त हुने १० मिलियन युरो करिब १ अर्ब ४६ करोड रुपैयाँ बराबरको अनुदान सहयोग रकम पनि स्वीकार गर्ने निर्णय गरेको छ ।
त्यसै गरी मन्त्रिपरिषद् बैठकले नेपाल सरकारका मुख्य सचिव लीलादेवी गडतौलाको यही भदौ १५ गतेदेखि अनिवार्य अवकाश हुने भएकोले रिक्त हुने मुख्यसचिव पदमा गृह मन्त्रालयका सचिव एकनारायण अर्याललाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
सरकारले एनसेल आजियाटा लिमिटेडको तेस्रो पटक अनुमति पत्र नवीकरण गर्न नवीकरण दस्तुर प्रत्येक वर्ष ५ अर्बका दरले ४ किस्तामा विभाजन गरी भुक्तानी गर्ने सुविधा दिने निर्णय समेत गरेको छ ।
एकै पटक नवीकरण दस्तुर नबुझाई किस्ता सुविधा लिएमा पहिलो किस्ता बाहेकको किस्ता भुक्तानी गर्दा बाँकी किस्ता वापतको जम्मा रकममा किस्ता भुक्तानी गरेको मितिसम्म वार्षिक १० प्रतिशतका दरले ब्याज र किस्ता रकम समेत लिने निर्णय गरेको छ ।
त्यसै गरी मन्त्रिपरिषदको बैठकले सङ्खुवासभा जिल्लाको खाँदवारी नगर पालिकामा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय रहने स्थान तोक्ने निर्णय समेत गरेको छ ।
बैठकले चलचित्र विकास बोर्डको रिक्त अध्यक्षमा दिनेशराज दाहाल डिसी लाई नियुक्त गर्ने तथा सहसचिवहरू भरत खनाललाई ग्वान्जाओ, झक्कप्रसाद आचार्यलाई कलकत्ता र लक्ष्मीप्रसाद निरौलालाई ल्हासास्थित नेपाली वाणिज्य दूतको पदमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्