तपाईँ सुन्दै हुनुहुन्छः

उपल्लो डोल्पामा बाह्रवर्षे ‘शे’मेला सुरु

डोल्पा । हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिका–३ साल्दाङ्गस्थित शेल गुम्बामा बाह्रवर्षे शे मेला सुरु भएको छ ।
‘दर्शन शेल रिवो डुग्ड्राको, आर्जन विश्वशान्ति’ भन्ने मूल नाराका साथ ६७औँ मेला सुरु भएको गाउँपालिकाका उपाध्यक्ष एवं प्रचारप्रसार उपसमितिका संयोजक पेमा वाङ्छेन गुरुङले जानकारी दिनुभयो ।
प्रत्येक बाह्र वर्षमा एकपटक लाग्ने मेलाले विश्वमा शान्तिको आह्वानसँगै डोल्पाको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पहिचान झल्काउने उहाँले बताउनुभयो । यस मेलाबाट सामाजिक एकता एवं सद्भाव कायम गर्नुका साथै ऐतिहासिक, प्राकृतिक तथा पुरातात्त्विक सम्पदाको विश्वसामु प्रचारप्रसार हुने आयोजकले जनाएको छ ।
रिवो डुग्ड्राको धार्मिक ढोका खुलाउने जिक्तेन गोन्पो रिन्छेन पलका शिष्य तपस्वी डुपतोप सिङ्गे यिशेको सम्मानस्वरुप लाग्ने यो मेलाबाट समग्र डोल्पो दर्शन बुझ्न सकिने उपसमितिका संयोजक गुरुङले बताउनुभयो ।
मेलामा सहभागी हुन पूर्वमन्त्री तथा डोल्पाका लागि सङ्घीय सांसद धनबहादुर बुढा, डाक्टर सन्दुक रुइतलगायत बौद्ध धर्मावलम्बीहरुका प्रमुख लामालगायत व्यक्ति पुग्नुभएको छ । मेला चार दिनसम्म सञ्चालन हुनेछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button