सिधुवामा बहुआयमिक र बहु सीपयुक्त पुस्तकालय सञ्चालन
धनकुटा । धनकुटाको सिधुवामा सिंधुवा छथर जोरपाटी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र सञ्चालनमा आएको छ । शनिबार पुस्तकालय दिवसको अवसरमा उक्त बहुआयमिक र बहु सीपयुक्त पुस्तकालय उद्घाटन गरिएको हो ।
धनकुटाको छथरजोरपाटी गाउँपालिका–६ स्थित सिंधुवा बजारमा निर्माण भएको पुस्तकालय जापानका राजदूतावास मिसन उप–प्रमुख ताकाहिरो तामुरा र छथरजोरपाटी गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
पुस्तकालय जापान सरकार र गाउँपालिकाको साझेदारीमा निर्माण भएको हो । जापान सरकारको तीन वर्षे आयोजना अन्तरगत नेपाल स्थित एसभिए र रिड नेपालको समन्वय तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको हो ।
जापान सरकारको एक करोड ६२ लाख, गाउँपालिकाको ५० लाख र स्थानीयबासीको ३० हजार गरि कुल दुई करोड १२ लाख ३० हजारमा आयोजना सम्पन्न भएको हो । अवसरहरूको खोजी गर्न नयाँ शैलीमा पुस्तकालयमा बच्चादेखि ज्येष्ठ नागरिकहरू ज्ञानसँगै जीवन उपयोगी सिप लगायतको रहेको छ ।
समुदायको मागमा आधारित भएर पुस्तकालय निर्माण गरिएको र नागरिकको बौद्धिक विकासलाई बुझेर अगाडी बढ्न पुस्तकालय निर्माण गरिएको छथरजोरपाटी गाउँपालिका धनकुटाका अध्यक्ष छत्रबहादुर सुब्बाले बताउनुभयो।
दुई कार्यक्रम हलसहित बनेको उक्त नौ कोठे भवनमा बालबालिका कक्ष, युवा अतिरिक्त, महिला, बहु-प्राविधिक, आइसिटी, पुस्तकालय, र जोखिम न्यूनीकरण कक्ष साथै अपाङ्ग मैत्री कक्षा समेत रहेका छन् । पुस्तकालयमा तीन हजार भन्दा बढी पुस्तकहरू रहेका छन् ।
आगामी दिनमा स्थानीय स्तरमा रहेका बौद्धिक, साँस्कृतिक तथा सामाजिक क्षेत्रमा रहेको विभिन्न विषयमा पुस्तकहरू प्रकाशन गर्दै जाने लक्ष राखेको पुस्तकालयका अध्यक्ष अर्जुन घिमिरेले जानकारी दिनुभयो ।










प्रतिक्रिया राख्नुहोस्