तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन मन्त्री पाण्डेद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण

लुम्बिनी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण गरिएको बताउनुभएको छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आज निरीक्षणपछि सञ्चारकर्मीसँग मन्त्री पाण्डेले सरकारले विमानस्थल सञ्चालनका लागि कार्ययोजना बनाएर अगाडि बढेको समेत बताउनुभयो । उहाँले विमानस्थल सञ्चालनका लागि सरकारले सेवा शुल्कमा छुटसहित हवाई कम्पनीलाई आकर्षित गराउन खोजेको बताउनुभयो । “अध्यागमन, श्रमलगायत अत्यावश्यक सेवाहरू भैरहवाबाटै सुरु गर्ने निर्णय गरेका छौँ । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण भएको विमानस्थलमा नियमित उडानका लागि मन्त्रालयका तर्फबाट पहलकदमी भइरहेको छ”, मन्त्री पाण्डेले भन्नुभयो ।

यसअघि विमानस्थलको अवस्थाका बारेमा गरिएको बिफ्रिङमा उहाँले विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभएको थियो । यसका लागि स्थानीयस्तरमा गर्नुपर्ने आवश्यक काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको थियो ।

त्यस अवसरमा मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि वातावरण बन्दै गएको भन्नुहुँदै अब बुद्धजन्मस्थल आएको अनुभूति हुने गरी सौन्दर्यकरणमा लाग्न आग्रह गर्नुभयो ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले अन्तर्राष्ट्रिय उडानका लागि सबै तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँले विमानस्थल नेपालको पूर्वमा चितवनदेखि सुदूरपश्चिमसम्मका यात्रुका लागि उपयुक्त ठाउँमा रहेकाले यसबाट धेरैले लाभ लिन सक्ने बताउनुभयो ।

उहाँका अनुसार सन् २०२२ मा ३१ हजार यात्रुले गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट आवतजावत गरेकामा सन् २०२३ मा चार हजार र सन् २०२४ को जुलाई सम्म नौ सय २३ जनाले मात्रै उडान भरेका छन् ।

मन्त्री पाण्डेसहितको टोलीले टर्मिनल भवन, टावर, पार्किङ, विशिष्ट कक्ष, धावनमार्गको निरीक्षण गर्नुभएको थियो । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रोकिदा निजी क्षेत्रको अर्बौँ लगानी जोखिममा परेको बारे त्यहाँ गुनासो गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button