सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पीडितमैत्री छ : मन्त्री चौरसिया
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पीडितमैत्री बनेको बताउनुभएको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले ‘बलपूर्वक बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवस’का सन्दर्भमा आज यहाँ आयोजना गरिएको कार्यक्रममा मन्त्री चौरसियाले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनपीडितलाई न्याय दिने किसिमको भएको बताउनुभयो ।
“पीडितमैत्री कानुन बनेको छ, मानव अधिकार उल्लङ्घनका घटनामा पीडितको सहमति भए मात्रै परिपूरणमा जान सक्ने व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “पीडितको सहमतिमा काम अघि बढ्नेछ, कानुनले पीडितलाई पूर्णरुपमा न्याय गर्नेछ ।”
महान्यायाधिवक्ता रमेश बडालले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउने उद्देश्यले नै राजनीतिक दलहरुबीच सहमति भएर दुवै सदनबाट पारित भएको प्रमाणीकरणका लागि गएको स्पष्ट पार्नुभयो ।
“सङ्क्रमणकालीन न्याय धेरै लम्ब्याउनु हुँदैन भन्ने पक्षमा राजनीतिक दल एकताबद्ध भएर उभिएको प्रष्ट देखिन्छ”, उहाँले भन्नुभयो, “सत्य अन्वेषण गर्ने मुख्य काम हो, त्यसका लागि कानुन पर्याप्त छ ।” महान्यायाधिवक्ता बडालले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याएर पीडितलाई जतिसक्दो छिटो न्याय दिनुपर्नेमा जोड दिनुभयो ।
आयोगका सचिव लोकराज पराजुलीले आयोगले गरेको कामका बारेमा जानकारी गराउँदै सत्य अनुसन्धान गरी पीडितलाई न्याय दिने विषयमै आयोगले काम गरिरहेको र आयोगमा पदाधिकारी आएपछि काम थप अघि बढ्ने विश्वास व्यक्त गनुभयो ।
कार्यक्रममा पीडितहरूले आफ्ना बेपत्ता भएका परिवारका सदस्य यतिका वर्षसम्म सम्पर्कमा नआएको हुँदा कि लास कि श्वास खोजिदिन राज्यसँग अनुरोध गरेका थिए भने छिटो न्यायका लागि पीडितले प्रक्रियामा सहयोग गर्ने धारणा राखेका थिए ।








प्रतिक्रिया राख्नुहोस्