तपाईँ सुन्दै हुनुहुन्छः

तिज खर्च कटाएर बिरामी महिलालाई आर्थिक सहयोग

बाँके  । नेपालगन्ज उद्योग वाणिज्य सङ्घले महिला सदस्यले तिज मनाउन लाग्ने खर्च कटाएर स्वास्थ्य समस्यामा परेकी व्यवसायी महिलालाई सहयोग गरेको छ ।

संघका अध्यक्ष टंकबहादुर धामी नेतृत्वको पदाधिकारी र सदस्य सम्मिलित टोलीले बुधबार संघका साधारण सदस्य कृष्णा शाहीलाई ७६ हजार तीन सय रुपैयाँ सहयोग गरेको हो । नेपालगन्ज औद्योगिक क्षेत्रभित्र कृष्णा चमेना गृह सञ्चालन गरिरहेकी शाही एपेन्डाइटिक्सको इन्फेक्सनबाट गम्भीर बिरामी हुनुहुन्छ ।

सङ्घको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ५१ हजार रुपैयाँ र कार्य समिति पदाधिकारी र सदस्यबाट सङ्कलन गरेको २५ हजार तीन सय रुपैयाँ औद्योगिक क्षेत्रभित्र रहेको निवासमै पुगेर अध्यक्ष धामीले शाहीका पतिलाई रकम हस्तान्तरण गर्नुभएको हो ।

सङ्घले महिला उपाध्यक्ष मन्दिरा पाण्डेको संयोजकत्वमा शाहीलाई सहयोग सङ्कलन गर्न इन्दिरा शाही र उमा ग्राण्डन सदस्य रहेको समिति बनाएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा अध्यक्ष धामीसँगै महिला उपाध्यक्ष मन्दिरा पाण्डे, महासचिव भीम बहादुर रानाभाट, उपमहासचिव टेकबहादुर खड्का, कोषाध्यक्ष मख्खन धामी, प्रवक्ता डम्बरबहादुर चन्द, सदस्यहरु इन्दिरा शाही, शिव दाहाल, राजीव तलंगा र सुदन केसीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button