तपाईँ सुन्दै हुनुहुन्छः

बङ्गलादेश बन्यो साफ यु–२० च्याम्पियनसिपको उपाधि विजेता

काठमाडौँ । घरेलु टोली नेपाललाई ४–१ ले पराजित गर्दै बङ्गलादेशले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको साफ यु–२० को फाइनलमा घरेलु टोली नेपाललाई ४–१ गोलले पराजित गर्दै बङ्गलादेशले उपाधि जितेको हो । उमेर समूहको प्रतियोगितामा बङ्गलादेशले जितेको यो पहिलो उपाधि हो । सन् २०१५ र २०१७ मा उपाधि जितेको नेपाल भने तेस्रोपटक उपाधि जित्न चुकेको छ । बङ्गलादेशको जितमा मिराजुल इस्लामले दुई तथा रब्बी हुसेन र अहमेद नोभनाले समान एक गोल गरे । नेपालका लागि समीर तामाङले एक गोल फर्काए ।

बङ्गलादेशले समूह चरणमा बेहोरेको हारको पनि बदला लिएको छ । समूह चरणमा नेपालले बङ्गलादेशलाई २–१ ले हराएको थियो । फाइनलमा दुई गोल गरेसँगै इस्ताम प्रतियोगिताको उच्च गोलकर्ता बने । उनको नाममा चार गोल रह्यो । नेपालले भुटान र बङ्गलादेशले साविक विजेता भारतलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेका थिए ।

प्रतियोगितामा नेपाल, बङ्गलादेश, भारत, भुटान, श्रीलङ्का र माल्दिभ्सको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button