मुख्यमन्त्री आचार्यद्वारा सिद्धबाबा सुरुङ मार्गको अवलोकन
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निर्माणाधीन सिद्धार्थ राजमार्गको सिद्धबाबा सुरुङ मार्गको अवलोकन गर्नुभएको छ । सुरुङ मार्गको स्थलगत निरीक्षण गर्दै मुख्यमन्त्री आचार्यले प्रगतिबारे जानकारी लिनुभएको हो ।

बन्दै गरेको सुरुङ प्रदेशको पहिलो सुरुङ मार्ग रहेको बताउँदै उहाँले विकास निर्माणको क्षेत्रमा नयाँ युगको सुरुवात भएको बताउनुभयो । निर्माण सम्पन्न भएपश्चात् नागरिकलाई आवतजावतमा सहजता हुने, पर्यटन प्रवर्द्धनमा समेत मार्गले टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
सभामुख तुलाराम घर्तीमगरले मृत्यु मार्गको रुपमा परिचित सिद्धार्थ राजमार्गलाई सुरक्षित बनाउन सुरुङ मार्ग कोशेढुंगा सावित हुने बताउनुभयो ।
अहिले सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सुरुङ मार्गमा विस्फोटक पदार्थ प्रयोग गरेर चौबिसै घण्टा खन्ने काम भइरहेको छ । अब दुईदेखि तीन महिनाभित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्ने तयारी रहेको सिद्धबाबा सुरुङ मार्ग आयोजना कार्यालयका इन्जिनियर सविता ज्ञवालीले जानकारी दिनुभयो ।

उक्त सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढ्न थालेपछि विकल्पका रूपमा सुरुङ निर्माण थालिएको हो । मुख्य सुरुङको लम्बाइ १ हजार १ सय २६ मिटर छ ।
सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् छेउमा निस्कन मिल्ने यसको निर्माण गरिएको हो । सुरुङको बीचबीचमा आपत्कालीन द्वारका रूपमा तीन वटा क्रस प्यासेज निर्माण भइरहेको छ । सुरुङभित्र केही समस्या आए क्रस प्यासेजबाट निस्कन मिल्नेछ । क्रस प्यासेजहरूको मात्र कुल दूरी ४ सय ४१ मिटर छ । सुरुङ र क्रस प्यासेजसहितको दूरी भने १ हजार ५ सय ६७ मिटर छ ।
यो खण्ड भएर साना–ठुलासहित औसतमा दैनिक करिब ५ हजार सवारी ओहोरदोहोर गर्छन् । पाँच वर्षभित्र निर्माण सक्ने गरी ०७८ फागुनमा सुरुङ मार्गको ठेक्का सम्झौता भएको हो । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा लिएको छ ।







प्रतिक्रिया राख्नुहोस्